काठमाडौं, मंसिर १३ ।
नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी जिल्ला सभापतिमा विजयी भएका छन् । अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् । अधिकारीले सभापति शेरबहादुर देउवा पक्षका नेता भीमप्रसाद ढुंगानालाई ३६ मतअन्तरले पराजित गरेका हुन् ।अधिकारीले एक हजार ८२ मत ल्याए भने ढुंगानाले एक हजार ४६ मत पाएका थिए । पराजित ढुंगाना नीलकण्ठ नगरपालिकाका मेयरसमेत हुन् ।
उनलाई पूर्वकानूनमन्त्री दिलमान पाख्रिनको समर्थन थियो भने अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलाले साथ दिएका थिए । यस्तै उपसभापतिमा गेहेन्द्रबहादुर मल्ल र दलबहादुर अधरकारी विजयी भएका छन् भने सचिवमा रामकृष्ण पाण्डे र विकास क्षेष्ठ विजयी भए ।
सहसचिवमा नवराज तिमिल्सिना विजयी भएका छन् भने क्रान्ति डल्लाकोटी र विजयकुमार तामाङको मत बराबर छ र उनीहरूले ९९५ मत ल्याएका छन् । अन्य पदाधिकारी र सदस्यमा विजयी हुनेहरू पनि अधिकांश रामनाथकै प्यानलकै उम्मेदवार हुन् ।