काठमाडौं, मंसिर १२ ।
प्रदेश सरकारका गृहमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको प्रक्रिया यथाशीघ्र अगाडि बढाउन माग गरेका छन् । प्रहरी समायोजनका लागि मधेश प्रदेशले दिएको अल्टिमेटम सकिन १० दिन बाँकी छँदा सात प्रदेशका मन्त्रीहरुले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर प्रहरी समायोजनको काम यथाशिघ्र चाडो गर्न सुझाब दिएका हुन् । सुदूरपश्चिम प्रदेशका गृहमन्त्री शिवराज भट्टका अनुसार प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्रि श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको जनाएका हुन ।
प्रदेश सरकारका गृह मन्त्रिहरुको संयुक्त भेटघाट कार्यक्रममा प्रहरी समायोजन ऐन, निजामती सेवा ऐन लगायतका याबद समस्याहरु र त्यसको समाधान छिटै गरिदिनुपर्यो भन्यौं । उहाँहरु (प्रधानमन्त्री प्रचण्ड र संघीय गृहमन्त्री श्रेष्ठ) ले गृहकार्य गरिरहेका छौं, छिट्टै गर्छौं भन्नुभयो, तर समय भन्नुभएन’, भट्टले संचारकर्मीहरुसँग भने ।
उनका अनुसार उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठलाई छिट्टै भनेको कति समय हो यकिन गर्न आग्रह गरिएको थियो । ‘उहाँले एकरदुई महिना लाग्नसक्ने जानकारी दिएको सहभागी प्रदेश गृहमन्त्रिहरुले जानकारी दिनु भयो । धेरै कुरा अगाडि बढिरहेको छ, एउटा निचोडमा पुगेपछि यहाँहरुलाई समेत बोलाएर अगाडि बढाउछौं भन्नुभएको छ’, मन्त्री भट्टले जानकारी गराउनु भयो ।
प्रहरी समायोजनका लागि चाहिने दुई वटा संघीय कानुन भने बनिसकेको छ । प्रहरी समायोजन ऐन २८ माघ २०७६ मै राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो भने नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन २०७७ साल भदौ १२ गते प्रमाणीकरण भएको थियो । दुई कानुनका आधारमा छिटोभन्दा छिटो प्रहरी समायोजन हुनुपर्ने प्रदेशका गृहमन्त्रीहरुको माग रहेको छ ।