१३औँ दक्षिण एसियाली खेलकुद (साग)आजबाट शुरु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  573 पटक हेरिएको

काठमाडौं मंसिर ११ ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा आजदेखि भलिबल खेल शुरु भएको छ । सागको औपचारिक उद्घाटन १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भए पनि भलिबल खेल भने आजदेखि नै शुरु भएको हो ।

सागमा नेपालसहित सातवटा देशले भाग लिँदै छन् । तर भलिबलमा ६ देशले मात्र भाग लिएका छन् । साग खेल्ने देश मध्ये भुटानको भलिबल टिम अहिलेसम्म छैन् । भलिबलमा नेपालको महिला र पुरुष दुवै समूहमा भारत र बंगलादेश रहेका छन् ।

आज दिउँसो तीन बजेदेखि सागको पहिलो महिला भलिबलतर्फको उद्घाटन खेल भएको छ । जसमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात भएको छ ।

नेपाली महिला टिम २ साता अघि सोझो सेटमै बंगलादेशको घरेलु भूमिका हराएकाले उच्च मनोबलका साथ कोर्टमा उत्रिएको छ । नेपाली महिला टिम सागमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ अहिले तयारीमा रहेको छ । नेपाली टिमकी कप्तान अरुणा शाहीले यस पटक घरेलु मैदानमा स्वर्ण पदक जित्दै इतिहास रच्ने लक्ष्यमा रहेको बताएकी छिन् । उनले सबै प्रतिस्पर्धी उस्तै भए पनि पछिल्लो समय आफूहरुले वैदेशिक प्रशिक्षण पाएको र बंगलादेशमा भएको सेन्ट्रल जोनको प्रदर्शनले टिममा धेरै ऊर्जा थपिएको विश्वास व्यक्त गरिन् ।

यस्तै प्रशिक्षक जगदीश भट्टले नेपाली महिला भलिबल टिम स्वर्ण पदकको प्रवल दाबेदार रहेको बताउँदै त्यसै अनुसार तयारी गरिएको बताएका छन् । आज अपरान्ह पाँच बजे पाकिस्तान र माल्दिभ्स भिड्ने छन् । यस्तै बिहीबार अपरान्ह ५ बजे नै नेपाली महिला टिमले भारतसँग प्रतिस्पर्धा गर्ने छ । साँझ सात बजे श्रीलंका र पाकिस्तान आमने सामने हुने छन् ।

शुक्रबार एक बजे भारत र बंगलादेश भिड्दा दिउँसो तीन बजे श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी, पुरुषतर्फको पहिलो खेल साँझ सात बजे हुने छ । जसमा नेपालले बुधबार बंगलादेशसँग खेल्ने छ ।

बिहीबार दिउँसो १ बजे पाकिस्तान र माल्दिभ्स तथा दिउँसो ३ बजे भारत र बंगलादेश भिड्ने छन् । नेपाली पुरुष टिमले समूह चरणको अन्तिम खेल शुक्रबार अपरान्ह ५ बजे भारतसँग खेल्ने छ । साँझ सात बजे श्रीलंका र माल्दिभ्स खेल्नेछन् । समूह चरणको अन्तिम खेलमा शनिबार श्रीलंका र पाकिस्तान दिउँसो ३ बजे खेल्ने छन् । समूह चरणका शीर्ष २ टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

सेमिफाइनलबाट फाइनलमा पुगेका दुई टिमले स्वर्ण र रजत पदकका लागि प्रतिस्पर्धा गर्दा पराजित हुने २ टिमले कास्य पदकका लागि खेल्ने छन् । भलिबलको फाइनल खेल १७ गते हुने छ ।

सम्बन्धित समाचार यो पनि पढ्नसहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार