काठमांडौ, मंसिर , १० । लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान आज देखि आरम्भ हुँदैछ । १६ दिने अभियान आ-आफ्नै सोंच, विचार र शैलीमा बिभिन्न संघसंस्था, संगठन, ब्यक्ति-ब्यक्तित्वहरूले मनाउने छन् । यस अवसरमा मलाई पनि आफ्ना केही विचारहरू पाठकहरूसमक्ष पस्कन मन लाग्यो ।
जुन समाज र समुदायमा समस्या बढी छ, समाधान पनि त्यहीँ गएर खोजौं । अन्यथा, परिणाम टाउको दुखेको औषधि नाइटोमा दले बराबर हुनेछ ।
* *** ***
यस अभियानबाट पितृसत्तावादी र महिलावादी सोंचमा के परिवर्तन आउँछ ? अभियानले के सन्देश दिन्छ ? उत्साहपूर्वक अभियानमा सहभागी पुरूष मित्रहरूले महिलाहरूमाथि गर्दै आएको ब्यबहारमा के परिबर्तन गर्नुहुन्छ ? दिनभरि समानता र अधिकारको चर्को भाषण गर्ने अनि स्टेसबाट बाहिरनसाथ नक्कली वा छाडाको बात लगाउन पनि पछि पर्नु हुन्न ? र, अभियानमा सहभागी महिलाहरूले पनि के परिवर्तन गर्नुहुन्छ ? श्रिमानलाई प्रताडित बनाउँदै गर कि मरको स्थितिमा पुर्याउनु हुन्न ?
मलाई लाग्छ, अभियान चलाउनु र दिवस मनाउनु मात्र ठूलो कुरा होइन । त्यस्ता अभियान र दिवसले दिने सन्देश अनि दैनिक जीवनमा गरिने ब्यबहार चाहिँ मुख्य कुरा हो ।
यस अभियानमा लैंगिक हिंसाबारे शहरकेन्द्रित केही बहस अवश्य आरम्भ भएको छ । तर जहाँ बहस हुनु पर्ने हो र ब्यवहारमै परिबर्तन ल्याउनु पर्ने हो त्यहाँ खास केही हुन सकेको छैन । लैंगिक हिंसाको मापन गर्ने हो भने शहरमा भन्दा ग्रामीण इलाकामा साथै शिक्षित,सम्पन्न परिवारमाभन्दा अशिक्षित, बिपन्न परिवार र खासगरी दलित समुदायमा बढी हुने गरेको छ ।
अधिकांश महिला अधिकारकर्मी अभियन्ताहरू शहरका तारे होटलहरूमा गोष्टी, सेमिनार गरेर समय बिताइरहेका छन् । मेरो अनुरोध छ- जुन समाज र समुदायमा समस्या बढी छ, समाधान पनि त्यहीँ गएर खोजौं । अन्यथा, परिणाम टाउको दुखेको औषधि नाइटोमा दले बराबर हुनेछ ।
हामी २१ औं शदीको दोश्रो दशकमा छौं । विज्ञान प्रविधि र सूचना सन्चारमा आएको अभूतपूर्व परिवर्तनले मान्छेको चेतना, सोंच र बानिब्यहोरामा समेत ठूलो परिवर्तन ल्याइरहेको छ । हिंसाको स्वरूप र परिभाषामा पनि परिवर्तन आएको छ ।
विगतमा संस्कारका नाममा कतिपय विभेदकारी चलनमाथि गौरव गरिन्थ्यो, आज ती चलनलाई हिंसाको रूपमा परिभाषित गरिएको छ ।
यसको अर्थ विगतका सबै संस्कारहरू खराब थिए भन्ने पक्कै होइन । समाजमा आएको परिवर्तन सँगसँगै कतिपय संस्कार समस्याको रूपमा देखिन थाल्छ, त्यस्ता संस्कारलाई समयानुकूल परिमार्जन गर्दै लैजानु पर्दछ ।तर, आफ्ना अग्रज अभिभावकहरूलाई आदर गर्नु, सेवा र सम्मान गर्नु सबैको कर्तब्य हो । आदरपूर्वक छोराले आमाबाबुको, बुहारीले सासूको गोडा ढोग्नु हाम्रो नेपाली सभ्यताको परिचय हो ।अर्थात् आफ्ना अग्रज अभिभावकहरूप्रति आदर र सम्मान ब्यक्त गर्नु मानव सभ्यताकै परिचय हो। सम्मान ब्यक्त गर्ने शैली आ-आफ्नो संस्कार अनुसार अलग अलग हुन्छन् । मान्छे चेतनशील सामाजिक प्राणी हुनाको नाताले अग्रजलाई आदर र सानालाई प्यार गर्नु उसको कर्तब्य हो ।
समान लिंगमा हुने हिंसाको एउटा मुख्य कारण पुस्तान्तरणले ल्याएको समस्या हो । आमा-छोरी र सासू-बुहारीको बीचमा घरघरमा समस्या बढिरहेको छ । सासूको खुट्टा किन ढोग्ने, बुहारी भनेकी नोकर्नी हो, छोरीलाई जस्तो माया किन गर्ने ? जस्ता सोच कतिपय सासू-बुहारीमा देखिन्छ । यो खासमा पुरातन सोच राख्ने सासू र आधुनिक सोच राख्ने बुहारीबीचको अन्तरबिरोध हो ।
सासूले बुहारीलाई छोरीको माया दिने र बुहारीले सासूलाई आमाको सम्मान गर्ने गर्नुपर्दछ । आधुनिकताका नाममा सासूलाई केही नबुझेकी गँवार ठान्ने र हेप्ने प्रवृत्ति बुहारीहरूले त्याग्नु पर्छ ।
हाम्रो समाजका कतिपय संस्कार, परम्परा रूढिवादी मात्र होइन, लैंगिक रूपमा असाध्यै विभेदकारी पनि छ । रजस्वला भएकी नारीलाई छुन हुन्न, अपवित्र हुन्छे भनेर पशुवत ब्यवहार गर्ने, जस्ता कुसंस्कार अझै पनि हाम्रो समाजमा छँदैछ ।
संस्कार, परम्परा, धर्म, रीतिरिवाजको नाममा यस्ता रूढिवादी र विभेदकारी चलनलाई मान्नु हुन्न । संविधानमा लेखिने शब्दमा मात्रै समान भनेर पुग्दैन, ब्यबहारमै विभेद अन्त्य गरिने कुरा लेख्नु पर्छ र विभेद अन्त्य हुनु पनि पर्छ । शब्द र कर्मको साम्यता आजको सबभन्दा ठूलो समस्या हो ।
समानताका नाममा असंभव कुरा माग गर्ने विकृत मानसिकता पनि हामी केही आधुनिक नारीहरूमा मौलाउँदै गइरहेको छ । यी दुबै विकृत मानसिकताबाट नारी-पुरूष मुक्त हुनु पर्दछ । कृपया ढोंग र आडम्बर त्याग्नुहोस् । नारी स्वतन्त्रताको वकालत गरेजस्तो गरेर नारीकै हुर्मत नलिनुस् । कृपया दुराभाव राखेर होइन, सद्धभाव राखेर सिंगै नारी जातिको सम्मान गर्नुस् ।
हिंसा, आखिर हिंसा नै हो । चाहे महिलाबिरूद्ध गरिने हिंसा होस् वा पुरूषबिरूद्ध । हिंसाले ब्यक्ति, घरपरिवार, समाज र देशलाई नै बिगार्छ ।