नक्कली पीसीआर रिपोर्ट बनाउने चार निजी ल्याबलाई सरकारले २४ घण्टे स्पटीकरण सोधे

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  661 पटक हेरिएको


काठमाडौं, मंसीर ७ ।

नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोप लागे पछि सरकारले चार वटा निजी ल्याबलाई २४ घण्टे स्पटीकरण सोधेको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले कोभिड परीक्षण गर्ने स्टार अस्पताल, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टे स्पष्टीकरण सोधिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

आईसीएसको निर्णयअनुसार सबै प्रयोगशालाले नमुना संकलन गरेपछि नेगेटिभको हकमा १ महिना र पोजेटिभको हकमा ३ महिना स्टोर गरी राख्नुपर्नेमा त्यसो नगरेको पाइएपछि स्पष्टीकरण सोधिएको हो ।

निजी अस्पतालहरुले दिएका नेगेटिभ पीसीआर रिपोर्ट देखाएर नेपाल एयरलाइन्सहित विभिन्न एयरलाइन्सबाट विदेश जानेहरुमा त्यहाँ गरिएको पीसीआर परीक्षणमा पोजेटिभ नतिजा देखिएपछि नक्कली रिपोर्ट बनाएको बारे छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले स्वास्थ्य मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा छानबिनका लागि पत्राचार गरेको थियो ।

पर्यटन मन्त्रालयको कात्तिक २८ को सो पत्रानुसार प्रयोगशाला परीक्षणको नेगेटिभ रिपोर्ट देखाएर हङकङ, दुबई, साउदी अरब, जापान लगायतका देशमा गएकामा त्यहाँ गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । सोही कारण नेपाल एयरलाइन्स हङहङमा नोभेम्बर २५ सम्म प्रतिबन्धमा परेको छ भने अन्य देशले पनि चेतावनी दिएका छन् ।

यसरी नक्कली रिपोर्टको धन्दा फैलिए विश्वमै नेपालको छविमा नकारात्मक असर पुग्न सक्ने भन्दै मन्त्रालयले पत्राचार गरेको थियो ।
सो पत्रपछि मन्त्रालयको ‘स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन केन्द्र’ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका डा मुकुन्दा शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ टोलीका तर्फबाट बलराम गौतम थिए भने पर्यटन मन्त्रालयले कोभिड परीक्षणको नतिजाबारे उठाएको प्रश्नबारे छानबिन गरेर २४ घण्टाभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार