दक्षिण एसियाली खेलकुद (साग)मा सुरक्षा व्यवस्था कडा बनाउन गृहमन्त्रीको निर्देशन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  587 पटक हेरिएको

काठमाडौं, मंसिर ५ । आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, ललितपुर, कास्की र धनुषामा १३औं साग प्रतियोगिता आयोजना हुँदैछ । सोही १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका क्रममा त्रुटीरहित सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

बुधबार गृह मन्त्रालयमा साग सुरक्षा कार्ययोजनाका सम्बन्धमा आयोजित बैठकमा गृहमन्त्री थापाले साग प्रतियोगिता मुलुकको प्रतिष्ठासँग जोडिएको बताउँदै कुनै कमजोरी नहुने गरी सुरक्षा योजना बनाउन निर्देशन दिएका हुन् ।

गृहमन्त्री थापाले प्रतियोगितालाई स्वच्छ, स्वस्थ र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिएका छन् । बैठकमा सागका लागि तयार गरिएको सुरक्षा कार्ययोजना प्रस्तुत गरिएको थियो ।

कार्ययोजनामा प्रतियोगिता अवधिभर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालनको खाका तयार पारिएको छ। खेलस्थल, खेलाडीको आवासस्थल र खेलाडीको सुरक्षालाई केन्द्रमा राखेर कार्ययोजना तयार पारिएको छ ।

गृहमन्त्री थापाले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै यसलाई थप परिस्कृत गर्दै लैजान पनि निर्देशन दिए । बैठकमा गृहमन्त्री बादल, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेना र सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकारीहरूको सहभागीको रहेको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार