
काठमाडौं, मंसिर ४ । विश्व सम्पदा सूचिमा सूचिकृत बौद्धनाथमा रहेको श्री बौंद्ध तथा मेलम्ची घ्याङ गुठीको चिनियाँ लामा भुपती बज्र लामा र स्थानीयबीच भएको विवाद सल्टाउनको निमित्त संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयको पूर्व सह–सचिब तथा काठमाण्डौँ महानगरपालिकाको कार्यकारी अधिकृतको समेत जिम्मेवारी समालि सकेका, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा मन्त्रालयले पाँच सदस्य छानबिन समिति गठन गरेको छ।

मन्त्रालयकानुसार समितिको संयोजक तामाङको नेतृत्वमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा निवारण मन्त्रालय, गुठी संस्थानका प्रतिनिधिहरु रहेको जनाएका छन् । बौंद्धनाथ क्षेत्र विकास समितिको नेतृत्वमा बौंद्ध क्षेत्रमा क्रियाशिल संघसंस्थाले श्री बौंद्ध तथा मेलम्ची घ्याङ गुठीका चिनियाँ लामा भुपतिबज्र लामालाई बौंद्ध क्षेत्र तथा गुठीमा प्रवेश गर्न रोक लगाएपछि गुठी र समिति, स्थानीयबीच भएको विवाद सल्टाउन मन्त्रालयले समिति गठन गरेको हो ।
भुपतिबज्र लामा गुठीको चिनियाँ लामामा नियुक्त भएपछि स्तुपामा किला ठोकेको, जेनरेटर प्रयोग गरेको, नागरिकता लगायतका विषयमा विवाद भएपछि श्री बौंद्ध तथा मेलम्ची घ्याङ गुठीको दैनिक पुजा आज गर्न लामा पुर्णबहादुर लामालाई जिम्मेवारी दिएको थियो। विवाद सल्टाउन यस भन्दा अघि मन्त्रालयका उपसचिव निरज पौंडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेपनि प्रतिवेदन तयार तथा छानबिन गर्न नसकेपछि पुन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।
श्री बौंद्ध तामाङ कल्याण गुठीका अध्यक्ष एवं संघर्ष समितिका संयोजक खडगजित लामाले श्री बौंद्ध तथा मेलम्ची घ्याङ गुठीका चिनियाँ लामा भुपती बज्र लामाको ज्यादतिका विरुद्ध श्री बौद्धनाथ क्षेत्र विकास समितिको नेतृत्वमा, संघसंस्थाहरु, स्थानिय तथा गुठियारहरुले विरुद्ध गर्दै आएको, सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिएका छन ।
