काठमाडौं, मंसिर ३ ।
गैरआवासीय नेपाली संघ एनआरएनए को स्थगित चुनाव मंसिर २९ गते डिसेम्बर १५ मा हुने भएको छ । अध्यक्ष कुमार पन्तले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त मितिमा अनलाइनमार्फत नयाँ नेतृत्वका लागि चुनाव हुने जनाएका हुन् ।
यसअघि स्थगित भएको १० औं महाधिवेशन आगामी डिसेम्बर १९ र २० अर्थात पुस ४ र ५ गते काठमाडौंमा भौतिक रुपमा हुने भएको छ । महाधिवेशन प्रतिनिधिहरुको सूची निर्वाचन समितिलाई शुक्रबार नै बुझाइएको पनि अध्यक्ष पन्तले जानकारी दिए ।
संघको निर्वाचनको लागि तयारीमा जुट्न निर्वाचन समिति तथा सबै महाधिवेशन प्रतिनिधिलाई समेत आग्रह गरिएको छ । यसअघि केही मुलुकको समन्वय समितिको चुनावमा धाँधली भएको भन्दै परेको उजुरीमा परराष्ट्र मन्त्रालयले तत्काल चुनाव नगर्न भन्दै एनआरएनएलाई परिपत्र गरेको थियो ।
परराष्ट्रले स्वतन्त्र संस्थालाई हस्तक्षेप गरेको भन्दै विरोध पनि भएको थियो । आगामी चुनावमा डा बद्री केसी, कूल आचार्य र रविना थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
पन्तद्वारा जारी विज्ञप्ति