काठमाडौं, मंसिर ३ ।
अफगानस्तानमा बिद्रोहिले सत्ता कब्जा गरेसंगै अफगानी नागरिकहरू बिभिन्न देशमा स्थानांतर भएका छन । त्यसै क्रममा अवैध रुपमा नेपाल प्रवेश गरेका ११ जना अफगानी शरणार्थीलाई गृह मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)को जिम्मा लगाउने निर्णय गरेको छ । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपालमा पक्राउ परेका ११ जना अफगानी नागरिकलाई यूएनएचसीआरको जिम्मा लगाउने निर्णय भएको अनलाइनखबरसँग पुष्टि गरे ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई ८ कात्तिक २०७८ मा काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको थियो ।सीआईबीले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो । तीमध्ये ५ जनालाई विभागले उनीहरुकै इच्छा बमोजिम १४ कात्तिकमा मेक्सिको पठाएको थियो । तर मेक्सिकोको अध्यागमनले उनीहरुलाई नेपाल फिर्ता पठाइदिएको थियो ।
स्रोतका अनुसार जुन देशबाट भिसा जारी भएको हो, त्यहीँबाट आउनु पर्नेभन्दै मेक्सिकोले उनीहरुलाई फिर्ता पठाएको थियो । त्यसपछि विभागले कुनै निर्णय गर्न सकेको थिएन । अध्यागमन ऐनमा सरकारको स्वीकृतिमा अवैधरुपमा नेपाल प्रवेश गर्नेलाई गरिने कारबाहीबारे निर्णय गर्ने उल्लेख थियो । कानूनतः यसरी समातिने व्यक्तिलाई जुन देशबाट आएका हुन्, त्यहीँ फर्काउनुपर्ने हो ।
तर भारत हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई गृहले त्यहाँ फर्काएन । स्रोतका अनुसार भारतीय अधिकारीहरुले ११ जनालाई फिर्ता नगर्न दबाब दिएका थिए । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)को जिम्मा लगाएमा निजहरूलाई नेपाल प्रहरीले पक्राउ गर्न पाईने छैन ।