काठमाडौं , मंसिर,३। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारमा नियुक्त भएका सूर्य थापाले प्रेस संगठन र सम्वद्ध क्षेत्रमा काम गर्ने पत्रकारहरुको भेला गरेर आज आफ्नो कार्यभार सम्हालेका छन् ।
मंगलबार प्रधानमन्त्री कार्यालयमा अनौपचारिक कार्यक्रमबीच थापाले औपचारिक रुपमा प्रेस सल्लाहकारको जिम्मेवारी लिएका हुन् ।थापालाई मन्त्रिपरिषदको शुक्रवारको बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त गरेको थियो । उनले प्रेस सल्लाहकारको काम सरकारको विरुद्धको प्रोपोगाण्डाको खण्डन गर्ने भन्दा पनि कामका आधारमा सरकार र प्रधानमन्त्रीलाई जनताबीच जस्ताको तस्तै प्रस्तुत गर्नु रहेको बताए ।
उनले प्रेस सल्लाहकारको जिम्मेवारीको सीमाभित्र रहेर आफूले मिडियामा सही र तथ्यपरक सूचना प्रवाह गर्न प्रभावकारी संयन्त्र निर्माण गर्ने पनि बताए । यसअघि कुनै कमजोरी भएका रहेछन् भने त्यसलाई पनि सुधार गर्दै जनताबीच सत्य तथ्य र यथार्थ जानकारी मिडियामार्फत प्रवाह गर्न आफू सबैसँग सहकार्यका लागि इच्छुक रहेकोले सोही अनुरूप काम गर्ने बताए ।
उनले सञ्चारकर्मीलाई अनुमान, हल्ला र आरोप भन्दा पनि सत्य, तथ्यमा आधारित रहेर व्यवसायिक धर्म निर्वाह गर्न आग्रह गर्दै त्यसका लागि सही सूचना दिन आफू तत्पर रहेको समेत बताए । चाँडो हुन खोज्दा गलत सूचना प्रवाह हुनुभन्दा पुष्टि गरेरमात्र समाचार प्रकाशन प्रसारण गर्दा पत्रकारकै विश्वसनीयता कायम हुने उनले बताए ।
आफू पत्रकारिता गरेरै आएको हुनाले पत्रकार र सञ्चारमाध्यमका प्राथमिकताको बारेमा अवगत रहेको भन्दै उनले सरकार र विशेषतः प्रधानमन्त्री कार्यालय तथा मिडियाबीच सूचना प्रवाहमा सहज पहुँचको व्यवस्था मिलाउने आश्वासनसमेत दिए ।
नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख समेत रहेका थापा दोस्रोपटक प्रधानमन्त्रीको सल्लाहकारको जिम्मेवारीमा आएका हुन् । यस अघि उनी २०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहकारको रूपमा काम गरेका थिए ।
नेपाल पत्रकार महासंघको नेतृत्व तहमा रहिसकेका थापा तत्कालिन एमालेको केन्द्रीय राजनीतिमा गएपछि सक्रिय पत्रकारिताबाट अलग भएका थिए । उनी पछिल्लो समय विभिन्न सञ्चार माध्यममा स्तम्भकारको भूमिकामा काम गर्दै आएका छन ।