काठमांडौ, कार्तिक २७ । नेपाली सांगितिक क्षेत्रका एक नक्षेत्र जसले एक पटक होईन १४ पटकसम्म बिश्व कीर्तिमानी राख्न सफल व्यक्ति हून डा.डीआर उपध्याय । २०७५ साल मंसिरमा एक साथ सात वटा गीति एल्बम सार्वजनिक गरेर विश्व रेकर्ड कायम गरेका गीतकार डा. डीआर उपाध्यायले पुनः एकै साथ सात एल्बम सार्वजनिक गरेका छन् । राजधानीको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सोमबार डा. डीआर उपाध्यायका सात गीति एल्बम बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले लोकार्पण गरेका हुन् ।
‘अन्जान तिर्खा’, ‘सुधारस’, ‘स्वर्गघर’, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’ र ‘अनुभुतिको मझेरीमा’ एल्बम सार्वजनिक गरिएको हो । बाङ्मय शताब्दी पुरुष जोशीले सात गीति एलबमसँगै उपाध्यायको एक उपन्यास ‘सपनाकी रानी’ र आठ उपन्यासको संगालो पनि सार्वजनिक गरेका थिए ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे र बाङ्मय शताब्दी पुरुष जोशीको हातबाट एल्बम सार्वजनिक गर्ने योजना भए पनि राष्ट्रकवि घिमिरेको अनुपस्थितिका कारण राष्ट्र कविकै निवासमा एल्बम सार्वजनिक तथा अभिनन्दनपछि रसियन सांस्कृतिक केन्द्रमा एल्बम सार्वजनिक तथा अभिनन्दन गरिएको थियो । दुवै शताब्दी पुरुषलाई ५१ हजार नगदसहित दोसल्ला र ताम्रपत्र प्रदान गरिएको थियो । एल्बम सार्वजनिक कार्यक्रममा हास्य सम्रागी बसुन्धरा भुसाल र वरिष्ठ गायिका ज्ञानु राणालाई पनि अभिनन्दन गरिएको छ । साहित्यकार सञ्चारकर्मी अच्युत घिमिरेले उपाध्यायका उपन्यासका बारेमा बोलेका थिए ।
गीत लेखेर एकपछि अर्को कीर्तिमान कायम गरेका डा. उपाध्यायले सार्वजनिक गीतमार्फत पनि आठ वल्ड्र रेकर्ड कायम गरेका छन् । सार्वजनिक कार्यक्रममा एभरेष्ट वल्ड्र रेकर्डका फाउण्डर निर्देशक मधुरा श्रेष्ठले डा. उपाध्यायलाई आठ वटा वल्ड्र रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । आज कायम भएका वल्ड्र रेकर्डमा २४ फरक गीत १२ मेजर १२ माइनर स्केलमा एउटै एल्बममा, पाँच फरक सङ्गीतकारले सङ्गीत गरेको एउटा गीत, अधिकांश हिन्दू देवी देवताको नाम राखेर बनाइएको गीत, एउटा एल्बममा सबै गीत सेभेन्थ कड्स, सबैलाई स्वस्थ राखौँ भन्ने योगसम्बन्धी, महिला प्रताडनासम्बन्धी गीत जसमा ७१ वर्ष र ५ वर्षकी गायिकाको स्वर, अत्यधिक हिमाललाई समेटेर पर्यटन वर्ष २०२० लाई लक्षित गीत र १६ महिनामाा १८ एल्बम सार्वजनिक रहेका छन् । यसअघि उनले ६ वल्ड्र रकेर्ड राखेका थिए । यससँगै उनकाे नाममा वल्ड्र रेकर्डको संख्या १४ पुगेको छ ।
कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले डा. उपाध्यायले नेपाली गीत सङ्गीतलाई विश्वमा चिनाउने काम गरेको बताए । उनको कार्य सह्रानिय रहेको भन्दै आगामी दिनका लागि शुभकामना दिए ।