काठमाडौँ, कार्तिक २६ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौँ आइपुगेका छन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी नै विमास्थल पुगेकी थिइन् ।
नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिद आजै भक्तपुरको ऐतिहासिक स्थलको भ्रमणका लागि जानेछन् भने साँझ राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।
भ्रमणका क्रममा उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा राष्ट्रपति हमिद पोखरा पनि जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रका अनुसार बंगलादेशका राष्ट्रपति चार दिने लामो नेपाल भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ। बंगलादेशी राष्ट्रपतिको भ्रमणलाई मध्यनजर गरी सुरक्षा व्यवस्था भने कडा पारीएको छ ।
हमिद सन् २०१३ मा पहिलो पटक बंगलादेशको राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपतिको दोस्रो कार्यकालका लागि उनी सन् २०१८ मा पुनःनिर्वाचित भएका थिए ।
सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएपछि १९७२ मा नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। पछिल्लो समय नेपालको अन्तराष्ट्रीय सम्बन्ध सुदृढ भएको छ । केही महिना अघि मात्र गणतन्त्र चीनका राष्ट्रपति सि जिंग पिंगको नेपाल भ्रमणमा आउनु भएको थियो ।