डा केसीलाई बचाउन राधा पोखरेलको अपिल

  राधा पोखरेल प्रकाशित:  1889 पटक हेरिएको

काठमाण्डौँ, कार्तिक २५ । पछिल्लो समय नेपालका हरेक घटनाक्रममा आफ्नो धारणा राख्दै आएकी राधा पोखरेलले अनसनरत डा.के.सीको स्वास्थ्य अबस्था प्रति चासो दिदै डा. के.सिले उठाएको माग र चिकित्सा क्षेत्रमा हुने भ्रष्टाचारविरूद्ध उनले उठाएको कदम सम्मानयोग्य मात्र नभएर सलाम गर्न योग्य छ भन्दै सामाजिक संजालमा लामो स्टाटस पोष्ट गरेकी छिन । उनै नेपाल पूँजीबजार संघकी अध्यक्ष समेत रहेकि पोखरेलको भनाई जस्ताको तस्तै तल साभार गरेका छौ ।

के भनि त राधा पोखरेलले तल पढ़नुहोला ।

नित्य कर्म सकेर न्यूज तिर आँखा दौडाउ्दै थिएँ “डा केसीको स्वास्थ्य अवस्था अस्पतालको क्षमताभन्दा बाहिर “ भन्ने समाचारले मुटु नै चिसो भयो । तपाईँहरुलाई के ढाट्नु मुटुरोगी झन्डै अस्पताल नै जानु परेको !

सरकारविनाको राज्य हुँदैन । राज्यविनाको नागरिक हुँदैन । एउटा नागरिकका लागि बाँच्न पाउनु सबभन्दा ठूलो मानवअधिकार हो । राज्य सबैको संरक्षक हो । सरकार अभिभावक हो । मलाई चिच्याई चिच्याई सोध्न मन लागिरहेको छ- के हाम्रो देशमा सरकार छ ? देश र जनताप्रति उत्तरदायी नेता र पार्टीहरू छन् ? यदि छन् भने हामी नागरिकलाई जवाफ चाहियो ।

एउटा नागरिकको हैसियतले बोल्नुपर्दा डा. केसीले जुन कदम उठाएका छन्, त्यो त्यतिकै आवेगमा आएर पक्कै उठाएका होइनन् । नेपालको सन्दर्भमा डा. केसी भ्रष्टाचारविरूद्ध उभिएका एक योद्धा हुन् । अभियन्ता हुन् । सदाचारका एक प्रतीक हुन् ।

विशेष गरेर चिकित्सा क्षेत्रमा हुने गरेका र भइरहेका भ्रष्टाचारविरूद्ध उनले उठाएको कदम सम्मानयोग्य मात्र नभएर सलाम गर्न योग्य छ ।

लोकतन्त्र भनेको पक्कै पनि विधिको शासन हो । अराजकता लोकतन्त्रमा स्वीकार्य हुँदैन ।अब प्रश्न उठ्छ- के डा. केसी अराजक हुन् ? उनका अभिव्यक्ति अमर्यादित छन् ?
डा. के.सी. पक्कै पनि अराजक होइनन् । उनले आजसम्म बिरोधको जुन शैली अपनाइरहेका छन्, त्यो पूर्णरुपमा संविधानसम्मत छ ।

अन्त्यमा,
सरकारको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्रीज्यू र सरकार निर्माणको अंकगणित मिलाइरहनुभएका भावी प्रधानमन्त्रीज्यू, कृपया तपाईँहरूको दोहोरी बन्द गर्नुहोस् ।

दस औंला जोडी बिन्ती छ- अस्पताल गएर डा. केसीलाई भेट्नुस्, र जीवन बचाउनुस् । न्याय मर्न नदिनुस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार