काठमाडौं कात्तिक, २२ । लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक बोलाएका छन् ।
भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा चर्को विरोध भइरहेको छ । भारत सरकारले सार्वजनिक गरेको एकपक्षीय नक्सा मान्य नहुने सरकार तथा शिर्ष नेताहरुले बताईसकेको छ ।
जवाफमा भारतले आफ्नो नक्सामा नेपालको भूभाग नपारिएको र बिगतकै नक्सा रहेको जिकिर गरिसकेको अवस्थामा अब नेपालको भूमिका तथा कुटनीतिक परामर्शको लागि सरकारले सबै राजनितिक दलहरुसँग परामर्श गर्ने उद्देश्यले सर्वदलिय बैठक बोलाएको हो ।
तर नेपालमा जनस्तरबाट चर्को विरोध जारी छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख विपक्षी नेपाली कांग्रेस लगायतका दलले साझा धारणा बनाउन र तत्काल भारतसँग कूटनीतिक सम्वाद गरी सीमा समस्या सुल्झाउन आग्रह गरेका छन् ।
सर्वदलीय र विज्ञहरुको परामर्शबाट समान धारणा बनाउन प्रधानमन्त्रीले बैठक बोलाएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले भोलि शनिबार सर्वपक्षीय परामर्श बैठक बोलाएका हुन् ।
अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए । बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् ।