दाङ, कार्तिक २१ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले लिपुलेकमा गरेको हस्तक्षेप अस्विकार्य भएको बताएका छन् । हिजो दाङको घोराहीमा प्रेस संगठन नेपालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने यो कुनै पनि हालतमा शैह्य नहुने बताए । ‘यसबारेमा मैले पूर्ण रुपमा बुझन पाएको छैन । तर, भारतले यस किसमको काम गरेको छ भने त्यो कदापी शैह्य हुँदैन । उनले भने ‘ सीमाका विषयमा हामि कुनै पनि किसमको सम्झौता गर्ने पक्षमा छैंनौं । ’
आफू भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसित प्रष्टरुपमा लिपुलेकबारे असहमति राखेको उल्लेख गर्दै उनले चीन र भारतबीच असहमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यसको कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्ने बताए । ‘भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसंग यस विषयमा मैले स्पष्ट कुरा राखेको थिएँ । ’ उनले भने ‘तर भारतले फेरि पनि एकतर्फी हस्तक्षेप गरेको मान्य हुँदैन । सरकारले तत्काल यस विषयमा कुटनैतिक पहल गर्नेछ । ’
अर्को एक प्रसंगमा बोल्दै अध्यक्ष प्रचण्डले हालको सरकार परिवर्तन हुने हल्ला निराधार भएको दाबी गरे । जनताले दुइ तिहाइ मत दिएर पठाएको सरकारले ५ वर्ष अविचलित रुपमा काम गर्ने उनको भनाई थियो । ‘ सरकार परिवर्तन हुने र म प्रधानमन्त्री हुने भन्ने हल्ला निराधार हो । हल्लाका पछि नलाग्दा हुन्छ । ’ उनले भने ‘ सरकार ५ वर्षसम्म परिवर्तन हुँदैन । ’
दाङ प्रदेशकै केन्द्रका रुपमा रहेको बताँउदै उनले राजधानीका सवालमा पनि दाङ केन्द्र बन्न सक्ने बताए । भारतले प्रकाशनमा ल्याएको नया नक्साप्रति नेपालमा जनता, बिध्यार्थी र राजनीतिक दलहरुले विरोध जनाएका छन ।