पोखरा, कात्तिक, २१ ।
कास्की क्षेत्र नं. २ मा आज नेकपाका नेतृ बिद्या भट्रटराई, कांग्रेस उम्मेद्धार पौडेल, साझा उम्मेद्धार रजनी के.सी र विवेकशिल उम्मेद्धार जमुना शर्माले उम्मेद्धारी दर्ता गरेको छ ।
विद्या भट्टराई
कास्की क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएकी विद्या भट्टराईले शोकलाई शक्तिमा बदल्न चुनावी मैदान उत्रिएको बताएकी छन् ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्य चयनका लागि कास्की २ मा उपचुनाव हुँदैछ, जसमा सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)ले अधिकारी पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।
बिहीबार भट्टराईको उम्मेदवारी दर्तापछि आयोजित सभामा नेकपाका नेताहरुले आफ्नो जिम्मेवार जित नजिक रहेको बताएका छन् । नेकपा उम्मेदवार विद्याले पनि हिजो जनताका सुखदुःखसँग जोडिएका जनप्रतिनिधिले जस्तै आफूले पनि जनमतको कदर गर्ने बताइन् । ‘शोकलाई शक्तिमा बदल्ने आँटसहित तपाईंहरुसँग एकाकार हुन आएकी छु’, सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘हामीले कम्युनिस्ट पार्टीको सरकारप्रति धेरै अपेक्षा राखेका छौं । त्यो भरोसाबाट आत्तिनुपर्ने बेला आएको छैन ।’
खेमराज पौडेल
बिहीबार उम्मेदवारी दर्तापछि पौडेलले अधिकारीलाई सम्झिए ‘रवीन्द्रजस्तो मान्छे धेरै चाहिन्थ्यो । उहाँ भएको भए मिलेर जान पनि सकिन्थ्यो होला,’ पौडेलले भने, ‘उनी दलीय स्वार्थभन्दा माथि थिए ।’ उनले अघि भने, ‘वाइड बडी भनेर आयोग गठन भयो । प्रधानमन्त्रीज्यूले निर्दोष छ भन्नुभयो । कम्तीमा सत्यतथ्य बाहिर आउनुपर्थ्यो । सरकारले उनीमाथि अन्याय गर्ने काम गरिराखेको छ ।’
पौडेलले रवीन्द्रको क्षेत्रमा हुन लागेको उपचुनाव आफूले जित्ने दाबी पनि गरे । जनता लहैलहैमा नझुक्किने भन्दै उनले सरकार र पार्टीको गतिविधि हेरेर आफूलाई भोट दिने दाबी गरे ।
रजनी केसी
कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदै साझा पार्टीका उम्मेदवारले आफूले जित्ने दावी गरेका छन् ।
सरकारको कामले अहिले मुलुक आक्रान्त भइरहेको साझा पार्टी कास्कीकी उम्मेदवार रजनी केसीले बताएकी छन् । सरकारको कामप्रति जनताको वितृष्णाकै कारण आफूले चुनाव जित्ने रजनीको दाबी छ । ‘एउटा पानी शुद्ध पिउन पाइएन । शुद्ध हावा निल्न सकिएन । बाटोमा कहाँनेर दुर्घटना हुने हो । पानी पर्दा कहाँ ढलमा डुबेर मरिने हो थाहा छैन,’ केसीले भनिन्, ‘जहाँ नेपाल छ । त्यहाँ पोखरा भन्ने आउँछ । तर, पोखराको दुर्दशा हेर्नुहोस् ?’
जमुना शर्मा
कास्की क्षेत्र नम्बर २ मा नेतृत्व गर्न विवेकशील नेपाली दल सक्षम रहेको उम्मेदवार जमुना शर्माले बताएकी छन् । नयाँ परिवर्तन र जनताको आवाजलाई उठानकै लागि आफू उम्मेदवार भएको शर्मालेले बताइन् । विवेकशीलको तर्फबाट उम्मेदवारी दर्ता गराएपछि जमुनाले भनिन्, ‘अब देश बनाउने हामी युवाहरुले नै हो । त्यसैले म राजनीतिमा आएँ ।’ गरेर देखाउन सक्छौं भन्ने विश्वाससहित चुनावी मैदानमा उत्रिएको जमुनाको भनाइ थियो ।