
काठमांडौ, कार्तिक १७ ।

सरकारले डा. भगवान कोइरालालाई मेडिकल काउन्सिल अध्यक्षमा नियुक्त गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुटु रोग विशेषज्ञ डा. कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा. कोइरालाले यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहिद गंगालाल हृदय रोग केन्द्रका निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका थिए ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो । दोस्रो नम्बरमा धर्मकान्त बास्कोटा र तेस्रो नम्बरमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरिएको थियो ।

तर प्रधानमन्त्री ओलीले बास्कोटालाई उपकुलपति बनाउन चाहेपछि कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाइएको हो । यद्यपि आइतबार उपकुलपति नियुक्तिबारे निर्णय भएको छैन ।
गंगालाल अस्पताललाई मुटु रोग उपचारको केन्द्र बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र मनमोहन कार्डियोथोर्यासिक सेन्टरमा पनि नेतृत्वदायी भुमिकामा रहेर काम गरे ।
