जापान, नोभेम्बर, १ ।
जापानमा पुनः एक मन्त्रिले पदबाट राजिनामा दिएका छन । श्रीमती माथि निर्वाचन कर्मचारीलाई बढी भत्ता दिएको आरोप लागेपछि जापानका न्याय मन्त्रीले पदबाट राजीनामा दिएका छन् । त्यहाँका उद्योगमन्त्रीले राजीनामा दिएको एक साता नपुग्दै न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका हुन् । यसअघि जापानका नवनियुक्त व्यापारमन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले पनि राजीनामा दिएका थिए ।
NHK टेलिभिजनका अनुसार कावाईकी पत्नीले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको सार्वजनिक गरेको थियो । NHK टेलिभिजनले सार्वजनिक गरेको तथ्यांक अनुसार कावाईले आफ्ना १३ महिला निर्वाचन अभियानकर्मीलाई कानूनमा व्यवस्था भए भन्दा दोब्बर अर्थात् प्रतिदिन २७६ डलर बराबर खर्च उपलब्ध गराएकी थिइन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई आलु तथा मकै उपहार दिएर मत प्रभावित गराएको आरोप पनि उनीमाथि छ ।
श्रीमतीले निर्वाचन कर्मचारीलाई बढी भत्ता दिएको समाचार सार्वजनिक भएलगत्तै मन्त्री कावाईले उच्च नैतिकता प्रदर्शन गर्दै पदबाट राजीनामा बुझाएका हुन् ।
यद्यपि, काबाईले आफूमाथि लागेको आरोप निराधार भएको प्रतिक्रिया दिएका छन् । राजीनामा बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो पत्नी एन्द्री वा ममाथि लगाइएका आरोप निराधार छन् । हामीले कुनै अनियमितता गरेका छैनौँ । यसलाई तल्लो तहसम्म पुगेर आरोपलाई निराधार पुष्टि गर्नु नै अहिलेको मेरो जिम्मेवारी हो ।’
हिरोसिमाको निर्वाचन क्षेत्र नं ३ बाट संसदको तल्लो सभाका लागि सात पटकसम्म निर्वाचित कावाईले सेप्टम्बर देखि न्यायमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
यो पनि पढ्नुहोस ।