काठमाडौं ,कात्तिक, १३ । ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिएको छ ।
भर्ना भएकै दिन अर्थात बुधबार साँझ नै डायलासिस गरिएको हो । स्वास्थ्य चेकजाँचको रिपोर्टका आधारमा आकस्मिक डायलासिस गरिएको स्रोतले बताएको छ ।
यद्यपि अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नेफ्रोलोजी अध्यक्ष एवं प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले जारी गरेको प्रेस नोटमा भने यसबारे केही उल्लेख गरिएको छैन ।
प्रेस नोटमा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र आजै राति वा भोलिसम्म डिस्चार्ज हुने उल्लेख गरिएको छ ।प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन अस्पताल प्रशासन र चिकित्सकहरुलाई समेत रोक लगाइएको छ ।
प्रधानमन्त्रीको सचिवालयले सूचना लुकाउन जोड गरिरहेको छ । प्रधानमन्त्री ओली अस्पतालमा भर्ना हुँदै गर्दा उनको सचिवालय टीमका सदस्यहरुले नियमित चेकजाँच गरेर अस्पतालबाट प्रधानमन्त्री र्फकन लागेको सञ्चारमाध्यमलाई बताएका थिए ।
तर नेकपाको उच्च स्रोतसँग जिज्ञासा राख्दा प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमा राखेर थप डायलासिस गरिने जानकारी प्राप्त भएको छ । केही महिना अगाडी मात्र स्वास्थ्य जाँचको लागी सिंगापुर गएका प्रधानमन्त्रिको स्वास्थ्यमा पुन:समस्या देखिएको हो ।