सुडान, कार्तिक ८ ।
सुडानमा सेनाले सत्ता कब्जा गरेको खबरका बीच देशका प्रधानमन्त्री तथा कैयौं मन्त्रीहरुलाई उनीहरुको घरमै गिरफ्तार गरिएको छ । प्रधानमन्त्री अब्दुल्ला हमदोक र उनका कम्तीमा ४ मन्त्रीहरुलाई गिरफ्तार गरिएको बीबीसीले जनाएको छ । यिनीहरुलाई सोमबार बिहान सबेरै केही अज्ञात सैनिकहरुले हिरासतमा लिएका थिए ।
सुडानको सेनाले यसबारेमा कुनै टिप्पणी गरेको छैन । तर, लोकतन्त्र समर्थक समूहहरुले जनतालाई सडकमा उत्रिएर विरोध प्रदर्शन गर्न अपिल गरेका छन् । २ वर्ष पहिले सुडानमा ३० वर्षदेखि राज गरिरहेका राष्ट्रपति ओमार अल बशीरलाई सत्ताबाट हटाइएपछि एक अन्तरिम सरकार अस्तित्वमा आएको थियो । त्यतिबेलादेखि नै सेना र नागरिक सरकारबीच असहज अवस्था कायम थियो ।
खासमा यी गिरफ्तारीहरु कसले गराएको हो भन्ने अझैसम्म स्पष्ट छैन । प्रत्यक्षदर्शीहरुका अनुसार राजधानी खार्तुममा इन्टरनेट बन्द छ । सामाजिक संजालमा शेयर गरिएका सन्देशमा आक्रोशित भिडले सडकमा टायर बालिरहेको देखिन्छ । समाचार एजेन्सी रोयटर्सले एक प्रत्यक्षदर्शीको हवाला दिँदै बताएअनुसार खार्तुममा सेना र अर्धसैनिक बल तैनाथ छ र मानिसको आवागमन सीमित पारिएको छ । खार्तुम विमानस्थल पनि बन्द गरिएको छ र सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरिएका छन् ।