डुइङ बिजनेस इन्डेक्समा नेपाल १६ स्थान माथि उक्लियो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  590 पटक हेरिएको

काठमाडौं, कार्तिक ७ । डुइङ बिजनेस इन्डेक्समा नेपाल १६ स्थान माथि उक्लिएको छ। गत वर्ष ११०औं स्थानमा रहेको नेपाल यस वर्ष ९४ औँ स्थानमा उक्लिएको हो। १० सूचकाङ्कमध्ये नेपालले ५ वटामा सुधार गरेको छ। नेपालको अवस्था ३ सूचकाङ्कमा गिरावट र २ मा स्थिर रहेको छ।

गत वर्ष नेपाल ५ स्थान तल खस्किएको थियो। अर्थमन्त्री युवराज खतिवडाले नेपालको स्तर खस्किएको विषयमा सार्वजनिक असन्तुष्टि जनाएका थिए।

डुइङ बिजनेस इन्डेक्स सार्वजनिक भएसँगै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णीम वाग्लेले व्यवसायमैत्री आर्थिक सुधारलाई थप विस्तारित र गहिरो बनाउँदै लैजान सुझाएका छन्। विश्व बैंकको यो चर्चित तर विवादास्पद अभ्यासले समग्र अर्थतन्त्रको गतिशीलता भने नसमेट्ने वाग्लेको भनाइ छ।

नेपालले यस वर्ष ६३ दशमलव २ अंक प्राप्त गरेको छ।

यद्यपि सर्वाधिक आर्थिक सुधार गर्ने २० राष्ट्रमा नेपाल परेको छैन। उल्लेख्य सुधार गर्ने २० मुलुकमा साउदी अरब, जोर्डन, टोगो, बहराइन, ताजकिस्तान, पाकिस्तान, कुवेत, चीन, भारत, नाइजेरियालगायत छन्।

चार वर्षअघि १४२औं स्थानमा रहेको छिमेकी मुलुक भारत ६३औं स्थानमा उक्लिएको छ। दक्षिण एसियामा राम्रो आर्थिक उन्नति गरिरहेको बंगलादेश आज पनि पुछारतिर भेटिन्छ (१६८औं) भने श्रीलंका पनि नेपाल भन्दा पछि छ।

मे २०१८ देखि मे २०१९ सम्मको आर्थिक अवस्थाको आधारमा ‘डुइङ बिजनेस इन्डेक्स २०२०’ जारी गरिएको विश्व बैंकले जनाएको छ।

सब-साहारान अफ्रिका, ल्याटिन अमेरिका तथा क्यारेबियन राष्ट्रहरुको अर्थतन्त्रमा यसपटक पनि सूधार आउन नसकेको इन्डेक्सले जनाएको छ। सब-साहारान अफ्रिकाका २ मुलुक मात्रै शीर्ष ५० अर्थतन्त्र भएका मुलुकभित्र अटाएका छन्। ल्याटिन अमेरिकाका कुनै पनि मुलुक शीर्ष ५० भित्र परेका छैनन्।

डुइङ बिजनेस इन्डेक्समा जुन राष्ट्रले राम्रो अंक प्राप्त गर्छ, उक्त राष्ट्रमा उद्यमशीलता फस्टाएको तथा भष्ट्राचार कम भएको मानिन्छ।इन्डेक्समा कूल १ सय ९० मुलुकलाई समावेश गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार