काठमाडौं, कात्तिक ५ । सडक प्रयोजनका लागि नेपालकै पहिलो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमवार सम्माननिय प्रधानमन्त्रि के.पि ओलीद्वारा शिलान्यास गरिएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग शिलान्यास गरेका हुन् । आयोजना ४ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्ष अघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरू भएको थियो । यसका लागि २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।
प्रवेश मार्गसहित ५.५६ किमी सुरुङमार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको आयोजनाका निर्देशक श्यामप्रसाद खरेलले बताए । उनका अनुसार आयोजना प्रभावित क्षेत्रमा मुआब्जा वितरणमै करीब ६ अर्ब खर्च हुनेछ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको उनले बताए । धादिङको धुनिबेसी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि शुरू गरिने आयोजनाले जनाएको छ । यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक सुरुङमार्ग निर्माण हुन लागेको हो ।
उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए ।सुरुङमार्गकै मुखमा र सतुंगलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो । सुरुङमार्ग लागि असोज ६ गते जापानस्थित हाजमा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । निर्माण कम्पनीले साँढे तीन वर्षमा काम सक्नेछ ।
सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ ।सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन संकलन केन्द्र (सर्भिस सेन्टर) समेत निर्माण हुने आयोजनाले जनाएको छ ।