काठमाडौं, कार्तिक ५ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको परिवार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमल्टार नजिक सरेको छ । सभामुखको पटबाट राजीनामा दिएपछि बालुवाटारस्थित सरकारी निवास खाली गर्नुपर्ने भएकाले महरा परिवार ललितपुरको खुमल्टार सरेको उनको सचिवालयले जानकारी जानकारी गराएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महरा परिवार असोज २९ मा नै बालुवाटार छाडी ललितपुरको खुमलटारमा घर भाडामा लिएर सरेका हुन ।
महरा परिवार सभामुख हुनु अघि झम्सीखेल बस्दै आएका थिए तर अहिले भने महराको नयाँ निवास नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास नजिकै सरेका हुन । संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले बलात्कार आरोप लगाएपछि महरालाई उनको दल नेकपाले सभामुखबाट राजीनामा दिन दबाब दिएको थियो । तर महरले दुई पटक संसद सचिवालयमा राजिनामा पत्र दर्ता गराएका थिए । पहिले अनुसन्धान सम्पन्न नभएसम्मको लागि भनेर दर्ता गराएका थिए भने पछि पार्टीको दबाब पछि भने स्पष्ट खुल्ने गरी राजिनामा पेश गरेका थिए । महराले राजीनामा भने १४ असोजमा दिएका थिए ।
रोशनीले बलात्कार आरोपमा कारबाही मागसहित उजुरी दिएपछि प्रहरीले उनलाई १९ असोजमा सरकारी निवास बालुवाटारबाटै पक्राउ गरेको थियो । तर, पछिल्लो समय रोशनीले आफूमाथि महरा सरबाट यौनजन्य दुव्र्यवहार नभएको बयान दिदै आएकी छन् । आइतबार जिल्ला अदालत काठमाडौमा लिखित बयान दिँदै रोशनीले प्रहरीको दबाबमा उजुरी दिएकाले उक्त उजुरी खारेजीको माग समेत गरेकी छन ।