साफ च्याम्पियनसिपको फाईनल खेल आज नेपाल र भारत भिड़दै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  520 पटक हेरिएको


माले (माल्दिभ्स), असोज ३० ।   

नेपाली फुटबलका लागि आज शनिबार विशेष रहनेछ, किनभने नेपाल भारतविरुद्ध साफ च्याम्पियनसिप २०२१ को ऐतिहासिक फाइनलमा भिड्दैछ । नेपाल साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक फाइनल पुगेको हो । नेपालले माल्दिभ्सको नेसनल स्टेडियममा हुने खेलमा भारतलाई हराउँछ भने त्यो आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता सावित हुनेछ ।

माल्दिभ्सको स्थानीय समय अनुसार राति आठ बजे (नेपाली समय अनुसार राति ८:४५) मा खेल सुरु हुनेछ । सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालको प्रदर्शन कहिले पनि सेमिफाइनल भन्दा माथि हुन सकेको छैन् । अधिकांस समय यो प्रतियोगितामा नेपाल समूह चरणमै सीमित हुने गरेको छ ।

यसपल्ट भने नेपालले त्यो परम्परालाई ताडेर पहिलो पल्ट उपाधिको भिडन्तमा ओर्लिन लागेको छ । भारतका लागि भने आजको खेल लगातार आठौं फाइनल हुनेछ । समग्रमा कीर्तिमान सात पल्टको विजेता भारतले फाइनल खेल्न लागेको यो १२ औं पल्ट हुनेछ । अहिलेसम्मका प्रतियोगिताका १३ संस्करणमध्ये सन् २००३ मा एकै पल्ट मात्र फाइनल पुग्न सकेको थिएन् ।

अल्मुताइरी ‘डगआउट’ मा नहुने

यसपल्टको फाइनलको एउटा सबैभन्दा ठूलो विशेषता हुनेछ, दुवै टिमका प्रशिक्षक ‘डगआउट’ मा हुने छैनन् । त्यसो भनेको नेपालका अब्दुल्लाह अल्मुताइरी र भारतका इगोर स्टिमेक दुवैले टेक्निकल एरियामा रहेर आफ्ना खेलाडीलाई निर्देशन दिन पाउने छैनन, एक प्रकारले दुवै दर्शक हुनेछन् ।

दुई पहेँलो कार्डका कारण अल्मुताइरी नेपालका लागि आफ्नो अन्तिम खेलमा यो अवसरबाट वञ्चित भएका हुन् । बंगलादेशविरुद्धको खेल पछि उनले फाइनल नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए । त्यसको एकदिनपछि उनलाई ‘डगआउट’ मा बस्न नपाउने पत्र दिइएको थियो ।

भारतीय प्रशिक्षक स्टिमेकले माल्दिभ्सविरुद्धको खेलमा सिधै रातो कार्ड पाएका थिए, त्यसैले उनी पनि ‘डगआउट’ मा हुने छैनन् । नेपालका लागि प्रतियोगितामा अहिलेसम्म सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीमध्ये एक रहेका अञ्जन विष्टले पनि फाइनल गुमाउने छन् । उनी पनि दुई पहेँलो कार्डको मारमा परेका हुन् ।

भारतविरुद्ध नेपाल

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र भारतबीच सात खेल भएका छन् । त्यसमध्ये नेपाल एकै खेलमा मात्र विजयी रहेको छ । सन् २०१३ मा नेपालले काठमाडौंमा भएको प्रतियोगितामा भारतमाथि २–१ को ऐतिहासिक जित निकालेको थियो । यो भारतमाथि नेपालले हात पारेको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली जित रहेको छ ।

नेपाल बाँकी पाँच खेलमा भने पराजित रहेको छ । यसपल्टको लिग चरणको हारलाई छाडेर नेपाल अन्तिम पटक सन् २०१५ को साफ च्याम्पियनसिपमा भारतविरुद्ध पराजित भएको थियो । भारतको केरलामा भएको त्यस खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । यी दुई टिमबीचका पछिल्ला पाँच खेलमा भारत चारमा विजयी रहेको छ ।

एक भने बराबरीमा टुंगेको छ । नेपालले अन्तिम पटक पछिल्लो महिना काठमाडौंमा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा भारतलाई १–१ को बराबरीमा रोकेको थियो । त्यति बेला नेपालले भारतसँग दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यसको दोस्रो खेलमा भने नेपाल २–१ ले पराजित भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार