काठमांडौ असोज २७ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा चुस्त सुरक्षा व्यवस्था मिलाएको भन्दै चिनियाँ पक्षले नेपाली सुरक्षाकर्मीको प्रशंसा गरेको छ । कुनै कमजोरी हुन नदिई सुरक्षा प्रबन्ध मिलाएकोमा उनीहरुले धन्यवादसमेत दिएका छन् ।
सुरक्षा व्यवस्थाबाट चिनियाँ पक्ष खुशी भएर धन्यवाद दिएको गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सोमबार गृहमन्त्रालयमा आयोजित बैठकमा जानकारी दिए । प्रभावकारी रुपमा सुरक्षा योजना कार्यान्वायन गरेकोमा बादलले सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् । यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको उनले बताए । सरकारले दिएका जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निभाएको भन्दै निती निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको उनको भनाई छ ।
गृहमन्त्री थापाले नेपाल एक चीन निती प्रति प्रतिवद्ध रहेको दोहा-याउँदै आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।
चिनियाँ राष्ट्रपति सिको भ्रमण ऐतिहासिक भएको तथा नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा यो भ्रमण कोशेढुङ्गा सावित हुने उनको भनाई छ ।
बैठकमा गृहसचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई बधाई तथा धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठुलो सहयोग पुग्ने बताए ।
बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्की, नेपाली सेनाका उपरथी शशिचन्द्र बहादुर सिंह लगायतको सहभागिता रहेको थियो ।