बुटवल, असोज २५ ।
रूपन्देहीको मोतीपुर घटनामा प्रहरीसँगको झडपमा गोलि लागि मृत्यु भएका ब्यक्तिको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एकरएक लाख रूपैयाँ दिने भएको छ । बुटवल उपमहानगरपालिका-१७ मोतीपुरको औद्यौगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी र प्रहरीबीच झडप हुँदा आइतबार ४ जनाको मृत्यु भएको थियो ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सर्वदलीय बैठकको निर्णय अनुसार मृतकको परिवारलाई १/१ लाख रूपैयाँ दिने निर्णय भएको जानकारी दिए । घाइतेहरूको उपचारमा कमी आउन नदिने पनि निर्णय भएको शर्माले संचार माध्यमहरुलाई बताए । घटनामा प्रहरी र सर्वसाधारण गरी ५० भन्दा बढी घाइते भएका थिए।
दुई जनाको सनाखत
झडपमा परी मृत्यु हनेमध्ये दुईजनाको नाम खुलेको छ। रुपन्देहीको शुद्धोधन नगरपालिका-५ का वीरेन्द्रप्रसाद कुर्मी र नवलपरासी बर्दघाट स्थायी घर भइ हाल तिलोत्तमा शंकरनगर बस्ने युजन कुमाल रहेको प्रहरीले जनाएको छ।
एक जनाको भने अझै परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। झडपमा प्रहरीको गोली लागेर मृत्यु भएका कपिलवस्तु वाणगंगा नगरपालिका-१० का ४८ वर्षका रमेश परियारको आइतबार नै सनाखत भएको थियो ।