जापानमा नेपाली समुदायका हकहित, सुरक्षा र सहयोगका लागि नेपाली दूतावास र एनआरएनए जापानले मिलेर कार्य गर्ने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  290 पटक हेरिएको

जापान, असोज २१ । 

जापानमा नेपाली समुदायका हकहित, सुरक्षा र सहयोगका लागि नेपाली दूतावासले एनआरएनए जापानसंग विगतदेखि गर्दै आईरहेको सहकार्यलाई निरन्तरता दिदै मिलेर कार्य गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ । जापानका लागि नेपाली राजदूतावास टोकियो जापानले शनिबार एनआरएनए जापानको नवनिर्वाचित राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी र सदस्यहरूको लागि आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा राजदूत डा दुर्गाबहादुर सुवेदीले उक्त प्रतिवद्दता व्यक्त गरेका हुन ।

एनआरएनए जापान र दूतावासका बिचको सहकार्य र सुसम्बन्धका कारण जापानस्थित नेपाली समुदाय, विश्वभरका नेपाली माझ र देशमा पनि सकारात्मक सन्देश गएको उल्लेख गर्दै राजदूत डा सुवेदीले यो सहकार्यलाई निरन्तरता दिनका लागि आग्रह गरे । ‘दूतावास एनआरएनए जापानको टिमसंग मिलेर हरेक कार्य गर्न पूर्ण प्रतिबद्ध छ ।’ नवनिर्वाचित एनआरएनए जापानको टिमलाई स्वागत गर्दै राजदूत डा सुवेदीले भने( ‘ हामी सकारात्मक पनि छौ, रचनात्मक पनि छौ, कुनै पनि पदीय अहंकार नराखीकन दाजुभाइ दिदी बहिनीको व्यवहार गरेर हरेक कार्यसम्पादन गर्ने छौ ।

एनआरएनए जापानलाई सफल बनाउनु भनेको एम्बेसी पनि सफल हुनु हो भन्दै राजदूत सुवेदीले एम्बेसी सफल हुनु भनेको नेपाली समाज नै सफल हुनु भएकोले सहकार्य र सुसम्बन्धलाई मुख्य आधार मानेर काम गर्नुपर्नेमा जोड दिए । जापानमा नेपालीको संख्या बढ़ेसंगै समृद्धि र पूँजी मात्र बढेको नभई समस्या पनि बढेर गएको तर्फ इगित गर्दै डा सुवेदीले यस्ता समस्याको समाधानका लागि एनआरएनए जापान र दूतावास मिलेर सहकार्य गरिनु आवश्यक भएको बताए । ‘नेपालीको संख्या बढ्दै जादा समृद्धि पनि भएको र समस्या पनि बढेर गएका छन।’ उनले भने( “समस्याको समाधानमा मिलेर काम गर्न आवश्यक छ । “

दूतावासमा कर्मचारीको संख्या कमी भएकोले प्रभावकारी सेवामा असर परेको बताउदै कामको चाप बढीरहेकोले यसको व्यवस्थापनमा एनआरएनए जापान र दूतावासले सहकार्य गरेर जानु आवश्यक रहेको राजदूत डा सुवेदीको भनाई छ । एनआरएनए जापानले हटलाइन टेलीफोन सेवा संचालनमा ल्याएपछि दूतावासको कामको बोझ केहि कमी आएको उक्त अवसरमा राजदूतले बताए । दूतावासको टेलिफोन नउठ्ने समस्या पनि कर्मचारीको कमीले गर्दा भएकोले नेपाल सरकारले दूतावासका लागि कर्मचारी थप प्रक्रिया अगाडि बढाइने आश्वासन दिएकाले कर्मचारी बढ़ेसंगै यो समस्या हटेर जाने उनले बताए ।

कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष नविन निउरेले नेपाली दूतावासद्वारा प्रदान गरिने सेवा जापानमा रहेका नेपाली नागरिकलाई छिटो छारितो, सहज सरल र पहुँच योग्य बनाउन घुम्ती सेवालाई वार्षिक नियमित कार्यक्रमकै रूपमा राखेर लैजानु पर्ने बताए । एनआरएनए जापानले गत वर्ष पनि सक्रिय रूपमा घुम्ती सेवा संचालनका लागि दूतावासलाई सहयोग गरेको उल्लेख गर्दै यस वर्ष पनि विगतका सिकाईलाई आत्मसात् गर्दै एनआरएनए जापानका क्षेत्रीय समितिलाई बढी ज़िम्मेवार दिने गरि आफूहरू सहयोग गर्न तयार रहेको बताए । नेपाली समुदायमा आईपर्ने समस्या र त्यसको समाधानका लागि दूतावास, एनआरएनए र सामाजिक संघ संस्था मिलेर प्रभावकारी कार्यक्रम संचालन गरिनु पर्ने आवश्यकता औल्याउदै अध्यक्ष निउरेले दूतावास र एनआरएनएका बीचमा सस्थागत सहकार्यलाई जोड़ दिई सूचना आदानप्रदान गरिनुपर्ने बताए ।

जापानमा नेपालीको संख्या वृद्धि भएको तर दूतावासमा कर्मचारीको कमीले सेवा प्रवाहमा सहज सरल र व्यवस्थित गराउन नसकेको कुरालाई मध्यनजर गरि यसको समाधानका लागि नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउइ एनआरएनए जापानले आवश्यक पहलक़दमी लिने अध्यक्ष निउरेको भनाई छ । कार्यक्रममा अध्यक्ष निउरे उपाध्यक्ष सिद्दार्थ श्रेष्ठ, महासचिव टिकाराम खरेल, सचिव चन्द्राकुमारी केसी, प्रवक्ता खगराज गौतम सदस्य रामु कंडेल, मन्जु बन, राम बस्तोला लगायतको उपस्थिति रहेको थियो । एनआरएनए जापानको नव निर्वाचित कार्यसमितिलाई पुष्पगुच्छासहित राजदूतसहितको टिमले स्वागत गरेको थियो । औपचारिक कार्यक्रम उप नियोग प्रमुख अम्बिकाप्रसाद जोशीले संचालन गरेका थिए ।

एनआरएनए जापानको सहकार्यमा नेपाली दूतावासले घुम्ती सेवा सञ्चालन गर्ने

नेपाली दूतावासद्वारा प्रदान गरिने सेवालाई जापानमा रहेका नेपाली माझ छिटो छारितो, सहज सरल र पहुँच योग्य बनाउन निकट भविष्यमैं एनआरएनए जापानसंगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिने जापानस्थित राजदूतावासले जनाएको छ । जापानमा नेपालीको सख्या बढीरहेको र सेवालाई जनमुखी र पहुँच योग्य बनाउनका लागि गतवर्षको सिकाई र अनुभवका आधारमा यस वर्ष पनि घुम्ती सेवा सञ्चालन सञ्चालन गरिने दूतावासले जनाएको हो । पहिले घुम्ती सेवा सञ्चालन गरेका केहि क्षेत्रमा यस वर्ष पनि निरन्तरता दिदै थप केहि क्षेत्रमा यस वर्ष सेवा विस्तार गरिने दूतावासले जनाएको हो ।

एनआरएनए जापानको सहकार्यमा गरिन लागेको उक्त घुम्ती सेवाको मिति तय भै नसके पनि तत्काल नै गरिने तयारीमा दूतावास रहेको बताइएको छ । बताइए अनुसार यस वर्ष होक्काइदो सापोरो चिवा क्षेत्र थप गरिने भएको छ भने फुकुओका, नागोया र ओसाकालाई निरन्तरता दिइने भएको हो । दूतावासले नेपालीलाई सहयोग र सेवा लिन सहज होस भन्ने उदेश्यले राहदानी वितरणलाई टोकियोमा सप्ताहव्यापी रूपमा गर्ने सोच रहेकोले यसको यसको आवश्यक तयारीमा दूतावास रहेको राजदूत डा दुर्गाबहादुर सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार