बेलायत सरकारले नेपाललाई रेडलिस्टबाट हटायो, नेपाली समुदायले खुशी व्यक्त गरे

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  384 पटक हेरिएको

काठमाडौं, असोज २२ ।   

कोरोना महामारीका कारण बन्द भएको बेलायत यात्रा सहज हुने भएको छ । नेपालमा कोरोना संक्रमण बढ़ेसंगै बेलायतले नेपाललाई रेड लिस्टमा राखेको थियो । बेलायत बस्ने नेपाली समुदायको बारम्बारको अनुरोध पछि बेलायतले नेपाललाई रेड लिस्ट (रातो सूची)बाट हटाएको हो । बेलायत सरकारले बिहीबार गरेको यो निर्णय आउँदो सोमबारबाट लागू हुने छ । बेलायतले रातो सूचीबाट हटाएपछि नेपालले खुसी व्यक्त गरेको छ ।

कोरोना संक्रमण नियन्त्रणमा लिने उद्देश्यअनुसार बेलायत सरकारले नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको थियो । तर बिहीबार ४७ वटा देश रातो सूचीबाट हटेका छन् । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सोमबारबाट रातो सूचीबाट हट्ने जानकारी ट्वीटरमार्फत दिएकी छन् ।

नेपाललाई रातो सूचीबाट हटाएपछि लन्डनस्थित नेपाली दूतावासकी प्रवक्ता श्रीमती रोशन खनालले बेलायत सरकारको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएकी छन् । उनका अनुसार अब बेलायत यात्रा गर्ने नेपाली विद्यार्थी तथा यात्रुहरुलाई सहज हुने छ ।

‘नेपाललाई बेलायतको रातो सूचीबाट हटाउनका लागि हामीले पहल गर्दै आएका थियौं,’ खनालले भनिन्, ‘अब नेपालबाट ब्रिटेन यात्रा गर्ने यात्रुहरूलाई सहज हुने अपेक्षा गरेका छौं ।’

यसै वर्षको शुरूमा ब्रिटेनले संसारभरिका देशहरुलाई ‘रातो’, ‘पहेंलो’ र ‘हरियो’ गरी तीन सूचीमा राखेर वर्गीकरण गरेको थियो । बिहीबारको निर्णयबाट बेलायतले पहेंलो सूची हटाएर हरियो सूचीमा रहेका देशहरुको संख्या ह्वात्तै बढाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार