घटस्थापनाको दिन नौ अभिनेत्री राष्ट्रीय नवदुर्गा सम्मान २०७८ बाट सम्मानित हुदै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  579 पटक हेरिएको

काठमाडौं, असोज २० ।   

केही वर्ष अघिबाट शुरू गरीएको राष्ट्रीय नवदुर्गा सम्मान कार्यक्रम यस वर्ष पनि हुने भएको छ । अभिनेत्री रेजिना उप्रेती तथा कलाकार बिमला केसीका दुई भिन्न संस्थाले संयुक्त रूपमा बडादशैंको पहिलो दिन अर्थात घटस्थापनाको दिन काठमाडौंमा ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान–२०७८’ आयोजना गर्दैछन् । दुई वर्ष प्रारम्भ भएको राष्ट्रिय नवदुर्गा सम्मान गत वर्ष भने कोभिड–१९ को जोमिखका कारण आयोजना गर्न नसकिएको नायिका रेजिना उप्रेतीले जनाएको छ ।

बिहिबार दिउँसो, चावहिलस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने उक्त कार्यक्रमलाई रेजिना इन्टरटेन्मेन्ट तथा शहिद फिल्म्सले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । आयोजक संस्थाकी अध्यक्ष अभिनेत्री रेजिना उप्रेतीले कलाकर्मीलाई दिएको जानकारी अनुसार बडादशैंको पावन अवसर पारेर नौरथाको पहिलो दिन नेपाली फिल्मका नौ जना अभिनेत्रीहरु नवदुर्गा सम्मानद्वारा सम्मानित गर्न लागिएको हो ।

यो वर्ष नवदुर्गाबाट सम्मानित हुने अभिनेत्रीहरुमा चैत्य देवी, शर्मिला मल्ल, लक्ष्मी गिरी, मौसमी मल्ल, नीता ढुंगाना, केकी अधिकारी, सुरक्षा पन्त, साम्राज्ञी राज्य लक्ष्मी शाह तथा उपासना सिंह ठकुरी छन् । यसपटकको नवदुर्गा सम्मान कार्यक्रमलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आयोजना गरिँदैछ ।

अभिनेत्री उप्रेतीका अनुसार कार्यक्रमको प्रारम्भमा नौ जना कलाकारहरुले स्वागत नृत्य गर्नेछन् । नवदुर्गा सम्मानबाट सम्मानित हुने नौ जना अभिनेत्रीहरुले अभिनय गरेका एक–एक वटा चलचित्रका एक–एक गीतमा  नृत्य प्रस्तुत गरिनेछ । नृत्य प्रस्तुति लगत्तै नवदुर्गा सम्मान वितरणको कार्यक्रम प्रारम्भ हुनेछ । नवदुर्गा सम्मानबाट हरेक वर्ष ९ जना कलाकर्मीलाई सम्मान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार