काठमाडौं असोज, १६ । दुई दशकको अन्तरालमा हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई लक्षित गरेर सरकारले सुरक्षा तयारी थालेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ‘जेड प्लस’ तहको विशिष्ट सुरक्षा प्रदान गर्ने सरकारी योजना छ । गृह मन्त्रालयका एक अधिकारीका अनुसार जिनपिङको सुरक्षा चुनौतीलाई विश्लेषण गरेर सर्वोच्च तहको सुरक्षा दिन लागिएको हो ।
अधिकृतहरुका अनुसार यो सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ । जेड, वाई र एक्स सुरक्षा व्यवस्थामा क्रमशः २२, ११ र २ जना विशेष कमाण्डो खटिने गर्छन् ।
यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुने बताइएको छ भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् । उनको भ्रमणमा चीनबाटै बुलेट प्रुफ गाडी आउने बताइए पनि औपचारिक जानकारी दिइएको छैन । यद्यपि, तीन वटा विमानमा टोली आउने जनाइएको छ ।
जिनपिङको भ्रमण पूर्व परीक्षण उडानका लागि बुधबार एउटा जाहज काठमाण्डौ आएर फर्किएको थियो ।
सम्भवतः चिनियाँ राष्ट्रपतिको भ्रमण २७ असोजमा हुनेछ । त्यसक्रममा उनले चीनबाटै केही सुरक्षा अधिकृत पनि ल्याउनेछन् । तर, हालसम्म संख्या भने खुलाइएको छैन । चीनमै लगेर दिइएको तालिममा नेपाली सुरक्षा अधिकृतले प्रदर्शन गरेको क्षमताका आधारमा ग्रेडिङ पनि दिइएको छ
मुलुकमा आउने अति विशिष्ट व्यक्तिका लागि प्रदान गरिने जेड प्लस तहको सुरक्षा नेपाली सेनाको नेतृत्वमा हुने गृहका एक अधिकारीले बताए । अति विशिष्ट सुरक्षा कार्यविधि, २०७० मा भएको व्यवस्था अनुरुप सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गरेर सुरक्षा प्रदान गर्नेछ ।
समन्वयका लागि सेनाले बलाधिकृत रथी शरद गिरीलाई खटाएको छ भने प्रहरीले महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षत्री र सशस्त्र प्रहरीले पनि एक जना डीआईजीको नेतृत्वमा टोली खटाएको छ ।
सीको मुभमेन्टमा पहिलो सुरक्षा घेरामा चीनबाट आएका तालिम प्राप्त अधिकृत खटिनेछन् भने दोस्रोमा नेपाली सेनाको टोली रहनेछ । उनको स्कर्टिङका क्रममा चिनियाँ सुरक्षा टोली दायाँपट्टि रहने छ भने बायाँतिर नेपाली सेना रहने सुरक्षा स्रोत बताउँछ ।
त्यसपछिको घेरामा नेपाल प्रहरीको टोली रहनेछ भने सशस्त्र प्रहरीले भीभीआईपीको आवत–जावत हुने क्षेत्रको निगरानी र ‘हाई प्वोइन्ट भ्यू’ को विषयमा पनि खटिनेछ । नेपाल प्रहरी र सशस्त्रको विशेषज्ञ कुकरलाई पनि परिचालन गरिनेछ भने बम स्क्वायड टोली समेत तैनाथ रहने स्रोतको दाबी छ ।