धनगढी असोज, १४ । नेपालको प्रदेश ७ अन्तरगत रहेको विश्वभरी छरिएर रहेको सुदुरपश्चिम क्षेत्रका नेपालीहरुको साझा संस्था अन्तराष्ट्रिय नेपाली सुदुरपश्चिमेली समाजको बिषेश भेला धनगढीमा हुने भएको छ। असोज २४ गते हुने अन्तराष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको दोश्रो अधिवेसनका लागि सुदूरपश्चिमेली युवाहरु धनगढीमा भेला हुने भएका हुन्। विभिन्न देशमा रहेका सुदूरपश्चिमेली समाजको छाता संगठनका रुपमा रहेको अन्तराष्ट्रिय समाजको दोश्रो माहाधिवेसन तथा सम्मेलन धनगढीमा हुने भएको हो।
माहाधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ। समाजका गतिविधिका विषयमा पनि सम्मेलनमा छलफल हुने समाजका सदस्य तथा अन्तराष्ट्रिय लियोन्स क्लब क्यूस्यु जापानका बरिष्ठ उपाध्यक्ष समेत रहेको दिलेन्द्र जोशीले भिजन अनलाईन न्यूज संबाददातालाई जानकारी गराउनु भयो । महाधिवेशनकै अबसर पारेर समाजका गतिविधि र प्रवासीका भावना समेट्ने गरी तयार पारिएको सुदूरपश्चिम दर्पण नामक पुस्तक पनि विमोचन गर्ने कार्यक्रम रहेको उनले जानकारी गराउनु भयो ।
‘‘भेलामा सुदुरपश्चिमको हितका लागि आ–आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोग र प्रयासका बिषयमा छलफल गरिने छ,’ उनले भने, ‘बिकासको प्रचुर संम्भावना बोकेको क्षेत्र हुँदाहुदै पनि देशका अन्य क्षेत्र भन्दा पछाडी परेको सुदूरपश्चिमको बिकास र उत्थानका लागि प्रवासी सुदूरपश्चिमेलीहरुले खेल्न सक्ने भुमिका, बैदेशिक रोजगार र बिकल्प लगायतका बिभिन्न बिषयमा छलफल हुने छ।’’
झण्डै तीन बर्ष अगाडी सामाजिक संजाल मार्फत सुदूरपश्चिमको हितका लागि स्थापना गरिएको समाजको पहिलो भेला दुई बर्ष अगाडी धनगढीमै भएको थियो। समाजमा विश्वका करिब ४० भन्दा बढि राष्ट्रमा छरिएर रहेका सुदूरपश्चिमेलीहरु युवाहरुको आबद्धता रहेको छ।