काठमाडौं असोज, १४ । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।

तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् । महराले सभामुख पदबाट मात्र राजीनामा दिएको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले पत्रकारहरुलाई बताएका छन ।
महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले सभामुख महरालाई लगाएको आरोपको सचिवालयद्धारा खण्डन गरेको थियो। महराले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
यसबारे छलफल गर्न मंगलबार विहान बसेको नेकपा सचिवालयको बैठकले महराले दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुर्पे निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने, ‘प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञचार माध्यमहरुमा आएका समाचारहरु प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख कृष्णबहादुर महराले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाटै राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनु पर्दछ भन्ने निर्णय गरेको थियो ।’