जापान पछि अष्ट्रेलिया उडान भर्दै नेपाल एअरलाईन्स

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  1480 पटक हेरिएको

काठमाडौँ असोज, ९ । नेपालले यसै साता अस्ट्रेलियासँग एयर सर्भिस एग्रिमेन्ट (हवाई सम्झौता) गर्ने भएको छ । क्यानडाको मोन्ट्रियलमा मंगलबारदेखि हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को ४० औं सम्मेलनका क्रममा सम्झौता गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुन आइतबार राति भट्टराईको नेतृत्वमा ५ सदस्यीय टोली त्यसतर्फ गएको छ । अस्ट्रेलिया उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा पर्ने मुलुकमध्ये एक हो । सीधा उडान नभएका कारण चीन, कोरिया, मलेसिया, हङकङ, थाइल्यान्ड हुँदै नेपालीहरू अस्ट्रेलिया आउजाउ गर्न बाध्य छन् । आईकाओको सम्मेलनमा सहभागी हुने टोलीले पर्यटनमन्त्रीको उपस्थितिमा अस्ट्रेलियासँग हवाई सम्झौता गर्ने पर्यटन सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । ‘नेपाली राजदूत वा सहसचिव नेतृत्वको टोलीले अस्ट्रेलियाली टोलीसँग हवाई सम्झौता गर्नेछ,’ उनले भने ।

११ दिन चल्ने सम्मेलनमा अस्ट्रेलिया पनि सहभागी हुँदै छ । कुनै पनि मुलुकमा उडान सुरु गर्नुअघि हवाई सम्झौता गर्नुपर्छ । नेपालले हालसम्म ३९ मुलुकसँग यस्तो सम्झौता गरिसकेको छ । अस्ट्रेलियाले झन्डै ७ वर्षअघि नेपालसँग हवाई सम्झौता गर्न चाहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन् तर त्यसताका उसले आफ्नो मुलुकको कुनै एयरलाइन्सबाट सीधा उडान नभई कोड सेयरिङ गर्न चाहेको थियो । तर उक्त प्रस्ताव पारित हुन सकेको थिएन ।

यसपटक अस्ट्रेलियासँग धेरै तहको छलफलपछि हवाई सम्झौता गर्ने निर्णयमा पुगेको पर्यटन मन्त्रालयले जनाएको छ । अस्ट्रेलियाअघि नेपालले कम्बोडियासँग ०७५ मंसिरमा काठमाडौंमै हवाई सम्झौता गरेको थियो । नेपालले युरोपियन युनियनका ७ वटा सदस्य मुलुकसँग हवाई सम्झौता गरे पनि तीसँगको हवाई सेवा हाल बन्द छ ।

यस्तै जापानको ओसाका साताको दुई उडान भर्दै आएको नेपाल एअरलाईन्सले दशैंको यात्रुको चापलाई मध्यनजर गर्दै अर्को साता देखि जापानको टोक्यो शहर स्थित नारिता अन्तराष्ट्रिय एअरपोर्टमा पनि चार्टर उडान गरी यात्रुलाई सुविधा दिने भएका छन् । काठमाण्डौँ र जापानको नारिता सिधा हवाई सेवा भने केहि महिना पछि सुचारु हुने पनि जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार