जापान, असोज ९ ।
जापानका लागि नेपाली राजदूत प्रतिभा राणा नेपाल फर्कने भएकी छन । ४ वर्षे कार्यकाल पूरा गरि ४ महिना समयावधि थप गरी बस्नु भएकी राजदूत राणा अर्कों महिना अक्टुबर ८ तारिख स्वदेश फर्कन लाग्नु भएको हो । गत मंगलवार शेर बहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति अन्तर्गतका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
ओली सरकारले गरेको राजनीतिक नियुक्तिको राजदूत फिर्ती सुचिमा जापानका लागि राजदूत प्रतिभा राणालाई नसमेटिएको चर्चा चलिरहदाँ राजदूत राणा भने स्वदेश फर्कने तयारीमा रहेको दूतावास स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री देउवा पत्नी आरजु राणाको पहलमा पदावधि सकिए पनि दवाबकै कारण केपी ओली सरकारदेखी देउवा सरकारसम्मले पदावधि थप गरेको राजदूत राणालाई नाताबादका कारण नै राजदुतको पदमा निरन्तर रहेको आरोप लागेको थियो ।
तर राजदूत राणाका अनुसार काम गरेर राजदूतको रूपमा अघिल्लो सरकारले समयावधि थपेको जिकिर गर्दै यस पटक स्वदेश फर्कन लागेको बताउनु भयो । नेपाल फर्किएपनि राजदुत राणा पुन राजदुत कै भूमिकामा जापान तथा अन्य तेस्रो मुलुकमा जान सक्ने आकलन गरिएको छ ।