काठमाडौं, असोज ५ ।
‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।१० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ । उनको अन्त्येष्टि शेर्पा जातीको धार्मिक परम्पराअनुसार हुने आङछिरिङ शेर्पाले जानकारी दिए ।
आङ्रिताको आरोहण यात्रा
सन् १९४८ मा जन्मनुभएका आङ्िरताको पुख्र्यौली पेशा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लाग्नुभएको थियो । पहिलो पटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गर्नुभएका शेर्पाले विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेक्नुभएको थियो ।
आरोहणका क्रममै रहनुभएका आङ्रिता बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानाको मुख्य कारण उहाँ बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । गोपीकृष्णस्थित भाडाका कोठामा बस्नुभएका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा (वीरेन्द्र) ले आरोहणबाट सन्न्यास लेऊ भन्ने हुकुम भएको छ ।’ त्यसपछि उहाँ आरोहणमा नगएको परिवारको भनाइ छ ।
त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारसँगको भेटमा भन्ने गरेका थिए । सन् १९९६ तिर दीपेन्द्रले “दरबार आउनू” भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित हुनुभएको थियो ।
दश पटकको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उहाँकी छोरी डोमाले बताउनुभयो ।
यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको जनाउँदै नेपाल पर्वतारोहण सङ्घले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण सङ्घले मासिक रु १५ हजार दिँदै आएको छ । आङ्रिताका तीन छोरा र एक छोरी छन् । जेठ छोरा कर्साङ आरोहण पेशामै हुनुहुन्थ्यो । माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा हुनुहुन्छ र कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी धपाउने काम गर्नुहुन्छ । छोरी डोमा जोरपाटीमा हुनुहुन्छ । आङरिता उनै छोरीसँग बस्दै आउनुभएको थियो । उहाँको सात वर्षअघि पत्नीको निधन भएको थियो ।