काठमाण्डौं, असोज ३ ।
गतवर्ष संविधान दिवसका दिन हातहातमा झण्डा बोकेका आमसर्बसाधारण ठाउँठाउँबाट हर्सोल्लासपूर्ण रुपमा खुसीयाली साटासाट गर्न चोक, चौतारा, सडक ओइरिएका थिए । हातहातमा झण्डा र मनमनमा संविधान थियो । काठमाडौँमा विभिन्न जातजाति, समुदाय र धर्म संस्कृति मान्ने व्यक्ति बडो खुसीका साथ दिवस समारोहमा सरिक थिए । उपत्यकाको हरेक क्षेत्रमात्रै होइन हरेक घर झण्डामय भएको थियो । राष्ट्रिय चाडकै रुपमा मनाइएको संविधान दिवसले ऐतिहासिक झलक पस्केको थियो ।
विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित मौलिक वेषभूषामा भएको सहभागिताले टुँडिखेलको शोभा बढेको थियो । तर यस बर्षको संबिधान सभा दिवस भने निक्कै सुनसान रहेको सैनिकमञ्च टुँडिखेलमा भौतिक दुरी कायम गरेर दिवस मनाइएको थियो। आज यहाँ न जातजातिका झाँकी नै थियो न त आम सर्बसाधारण तथा सारा सरकारी कर्मचारीहरु नै उपस्थिति हुन पाए ।
सहभागी हुनुहुन्थ्यो त केवल राष्ट्रप्रमुख, सरकार प्रमुख, व्यवस्थापिका, न्यायपालिकाका प्रमुख, संवैधिानिक निकायका प्रमुख, मन्त्रीगण, नेपाल सरकारका सचिव तथा अन्य सिमित विशिष्ट अधिकारीहरु । न त भव्य ¥याली नै आयोजना हुन सक्यो न त जातजातिका साँस्कृति झाँकीले नै सोभा बढाउन सक्यो । विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैँमा ऐतिहासक र एक युगको अन्त्य र अर्को युगको प्रारम्भ भएको दिन पनि हो ।
यसपालिको दिवस समारोहमा नेपाली सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । यस्तै रङ्गीबिरङ्गी बेलुनसमेत उठाइएको थियो । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबरा, सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च सरकारी अधिकारीको सहभागीता थियो ।