जनकपुरधाम, असोज २ ।
नेपालमा चन्द्रसमशेरको पालामा आएको जनकपुरसम्मको रेलशेवा मर्मतसंभार पछि पुनसंचालनमा आएको छ । शुक्रबार बिहान ठूलो भिडका साथ नयाँ मोडलको रेललाई जनकपुरधामबासी र रेलसेवा बिभागका महानिर्देशक निर्देशक र जिल्ला प्रशासन कार्यालय प्रमुखको उपस्थितिमा स्वागत तथा उदघाटन गरिएको थियो । रेलको हर्न बजेको आवाज सुन्नासाथ सबै रमाउन थाले । मोबाइल निकालेर अगाडि तेस्र्याए । भीड यति ठूलो थियो कि रेल आउँदा लिकमा जम्मा भएकाहरुलाई हटाउन प्रहरीलाई हम्मेहम्मे समेत परेको थियो ।
जब रेल आयो, सबैले हुटिङ गरे । रेलमा लेखिएको छ, ‘नेपाल रेल्वे ।’ नेपालको आफ्नै रेल चलाउने योजनाअनुसार रेल विभागले कोकन रेल्वे कर्पोरेसन लिमिटेडसँग जीटूजी (सरकार टू सरकार)मार्फत १० मे २०१९ मा रेल खरीदसम्बन्धी सम्झौता गरेको थियो । भारत सरकारको मातहतमा रहेको कोकनसँग यो रेल भन्सार शुल्कबाहेक झण्डै ८४ करोड ९८३ करोड ९३ लाख ६० हजार० मा किनिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार १६०० एचपी डेमु रेल २ वटा नेपाल आइपुगेका हुन् । रेलको अगाडि र पछाडि दुईवटा इन्जिन छन् । एउटा रेलमा ५ वटा डिब्बा छन् । एउटा ड्राइभिङ्ग पावर कार, एउटा ड्राइभिङ्ग ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार छ ।
एउटा ट्रेन सेटले एकपटकमा करीब १३ सय यात्रु बोक्छ भने प्रतिघण्टा ११० किलोमिटर कुद्छ । रेल प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम आइपुगेसँगै कोकन रेल्वे कर्पोरेसन लिमिटेडका मेकानिकल इन चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक भट्टराईलाई दुबै रेल सेट हस्तान्तरण गरेको पत्र बुझाएका छन् ।
रेललाई शुक्रबार जनकपुरधाममै राखिएको छ । रातभर दुबै रेलको परीक्षण गर्ने र शनिबार भारतको जयनगर पठाउने योजना छ । दुबै रेललाई सञ्चालनमा नल्याउँदासम्म जयनगरको नेपाल प्लेटर्फममा पार्किङ्ग गरी राखिने छ ।