जापान, असोज १ ।
जापानको संसद्ले योशिहिदे सुगालाई देशको प्रधानमन्त्री निर्वाचित गरेको छ।शिन्जो आबेले स्वास्थ्यका कारण पदत्याग गर्ने घोषणा गरेपछि उनको उत्तराधिकारी छान्न संसद्मा बुधवार मतदान भएको थियो।
यसअघि केही दिनपहिले सुगा सत्तारूढ दलको नेता निर्वाचित भएका थिए।संसद्मा भएको मतदानले सुगाको नेतृत्वलाई औपचारिक रूपमा अनुमोदन गरेको हो।उनी आबेको मन्त्रिपरिषद्मा मुख्यसचिवका रूपमा दोस्रो वरीयतामा थिए। आबेका निकटतम सहयोगी मानिने सुगाले आबेका नीतिहरूलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ।
आबेले गत महिना देशमको कार्यकारी पद छोड्ने घोषणा गरेका थिए। बुधवार बिहान आयोजित मन्त्रिपरिषद् बैठकपछि आबेले आठ वर्ष सत्तामा हुँदा प्राप्त उपलब्धिप्रति आफू गौरवान्वित भएको सञ्चारमाध्यमलाई बताए।
त्यसपछि जापानको तल्लो सदनमा प्रधानमन्त्री पदका लागि मतदान हुँदा कुल ४६२ सांसदमध्ये ३१४ जनाले उनलाई समर्थन गरे। लिबरल डेमोक्र्याटिक पार्टी एलडीपीले नेतृत्व गरेको गठबन्धनको संसद्मा बहुमत भएकाले उनको विजय निश्चित थियो।
मन्त्रिपरिषद्का अन्य सदस्यसहित जापानी सम्राटले एउटा विशेष समारोहका बीच उनलाई पदभार ग्रहण गराउने छन्।