काठमाडौं, भदौ २५ ।
सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।
२०७४ को आम चुनावको मुखमा तत्कालीन शेरबहादुर देउवा सकरारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो ।
गरीब तथा विपन्न परिवारलाई प्रतिथ परिवार १० हजार
सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिथ परिवार १० हजार नगद अनुदान दिने भएको छ ।
शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘कोभिड(१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको छु ।’
आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार
सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।
यसअनुसार जनयुद्ध, जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले मासिक भत्ता पाउने भएका छन् । विगतदेखि नै नेकपा माओवादी केन्द्रले यस्तो व्यवस्था गर्न माग गर्दै आएको थियो ।