थारु महिलाहरुको मुख्य चाड जितिया पर्व देशभर मनाईदै, कोरोना महामारीले यस बर्ष घर मै सिमित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1175 पटक हेरिएको

काठमाडौं, भदौ २५ ।  

थारु समुदायका महिलाको मुख्य चाड जितिया पर्व आज देशभर मनाईदैछ । बुधवारबाट सुरु भएको जितिया पर्वको आज दोस्रो दिन अर्थात् मुख्य दिन हो । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष भने कोरोना महामारीका कारण खासै उल्लास छाउन सकेन। कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया पर्व मनाइरहेका छन् । सामूहिक रुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यसवर्ष भने कोरोना महामारीका कारण घरमै बसेका छन् ।

यस वर्ष चितवनका थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेपछि महिलाले घरमै जितिया पर्व मनाएका हुन् । अन्य क्षेत्रका महिलाहरुले पनि यस बर्ष साधारण तबरबाट जमघट नगरी जितिया पर्व मनाएका हुन । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी, पश्चिम र माडी क्षेत्रमा जितिया मनाइन्छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्नको लागि निषेधाज्ञा समेत लगाईरहेको सन्दर्भमा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले जितिया मनाउन कार्यविधिसमेत बनाएको छ ।

कोरोनाको सङ्क्रमणबाट समुदायलाई जोगाउँदै चाडपर्वको रक्षा गर्न घरमै बसेर चाडपर्व मनाउने निर्णय गरिएको थारु कल्याणकारिणीसभा जिल्ला कार्यसमिति चितवन सभापति ललितकुमार चौधरीले बताउनुभयो । आजको दिन थारु समुदायका महिला बिहानैदेखि निराहर ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रतबसी महिला तथा युवती यो पर्व मनाइरहेका छन् ।

यसपटक बिहान दर खाएपछि महिला एक ठाउँमा गीत गाउँदै रमाइलो गर्न पाएनन् । अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्छन् । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने चलन छ । यस्तै जितियामा कोसेली पु¥याउने चलन पनि छ । तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइन्छ ।

कठोर व्रत

सन्तानलाई अकाल मृत्युबाट जोगाउन र दीर्घायुका लागि माता जिर्मूतवाहन देवताको कठोर उपवास गर्ने गरिएको हो । भविष्य पुराणमा आराध्यदेव महादेवसमक्ष पार्वतीले यस्तो कुन व्रत वा तपस्या गर्दा सन्तानको अकाल मृत्यु हुँदैन भनी राखेको जिज्ञासामा महादेवले जिर्मूतवाहनको नियम निष्ठाका साथ व्रत बस्न भनेको उल्लेख गरिएको छ ।

यसका लागि कुशको जिर्मूतवाहनको मूर्ति बनाएर कलशमा स्थापना गर्नुपर्छ । आफ्नै आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर सोको डिलमा पाकरी रुखको हाँगा गाडी सो हाँगामा चिल र पोथी स्यालको आकृति बनाएर विधिपूर्वक पूजा गरेका खण्डमा सन्तानको बिग्रेको ग्रहगोचर निको हुने र अकाल मृत्युबाट जोगिने भनेर महादेवले पार्वतीलाई सुनाउनुभएको बताइन्छ ।

को हुन् जिमूतवाहन

भविष्यपुराणमा उल्लेख गरिएअनुसार राजा शालिवानका पुत्र जिर्मूतवाहनमाथि महादेवको असीम कृपा थियो । महादेवले नै जिर्मूतवाहनलाई वरदान दिएकाले सन्तानको अकाल मृत्युबाट बचाउनका लागि जितिया पर्वमा जिर्मूतवाहनको पूजा गरिन्छ । व्रत बसेका दिनमा बर्तालु महिला जलाशयमा स्नान गरी सूर्यदेवलाई अघ्र्य अर्पण गर्छन् । त्यसपछि घर पुगेर डाली (टोकरी) भर्ने नियम छ । सो डालीमा फलफूल, मिठाइ र नरिवल राखी नयाँ वस्त्रले छोपेर पूजास्थलमा राख्ने गरिन्छ ।

पर्व सम्पन्न भएपछि नवमी तिथिमा पूजापाठ गरेर छोराछोरीबाट छोपिएको सो वस्त्र हटाएर दर्शन गरी प्रसादका रुपमा ग्रहण गरिन्छ । उपवासका दिन बर्तालुका साथै महिला एक ठाउँमा भेला भएर जितिया पर्वको कथा अनिवार्य रुपमा श्रवण गर्ने गरिन्छ । कथा श्रवण गरेर घर फर्केपछि आँगनमा गाईको गोबरले लिपपोत गरी महादेवले पार्वतीलाई सुनाएको पूजाको विधिअनुरुप जिर्मूतवाहनको पूजा गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार