संखुवासभा, भदौँ २२ ।
संखुवासभाको मादी नगरपालिका-१ मा भएको एकै परिवारको ६ जनाको हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट टोली खटिने भएको छ। मंगलबार काठमाडौंबाटै सिआइबीको टोली खटिन लागेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। टोली अहिले स्ट्यान्डबाइ छ। तर गइसकेको अवस्था होइन, उनले भने। उनका अनुसार ब्युरोमा अनुसन्धानमा राम्रो दखल भएका प्रहरी अधिकृतको नेतृत्वमा टोली खटिन लागेको हो।
ब्युरोले यस घटनालाई सोमबारदेखि नै नियालिरहेको छ। यसबारे आवश्यक पर्ने सहयोग घटना भएदेखि नै गरिरहेको ब्युरोको भनाइ छ। हाम्रो टोलीले त्यहाँ निरन्तर सम्पर्क गरिरहेको छ। फिल्डमा पुगेर सिआइबीको आवश्यकता छरछैन हेरिन्छ। कतिपय घटना सजिलै पत्ता लाग्न सक्छ। आज चाहिँ सिआइबीको टोली आउँदा राम्रै हुन्छ भन्ने कुरा भएपछि जान लागेको हो, उनले भने।
सोमबार बिहान मादी-१ का ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको शव भेटिएको थियो। तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो। यसको अनुसन्धान गर्न संघीय ईकाइ प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको थियो। सो टोली साँझमात्रै घटनास्थल पुगेको थियो।
हामीले सबै कुरा हेर्दैछौं। ठ्याक्कै यही हो भन्ने भइसकेको छैन तर ढिलो चाँडो आउँछ, दाहालले भने, सिआइबीको टोली पनि हिँडेको खबर आएको छ। उक्त घटना आर्थिक लोभका कारण अज्ञात समुहले गरेको हुन सक्ने आशंका गरे पनि हालसम्म कुनै पनि कारण भने पत्ता लागेको छैन ।