काठमाण्डौ भदौ २१। ट्रेकिङएजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समुहबाट धादिङ ज्वालामुखिका खुमबहादुर सुवेदी विजयी भएका छन् । टानको शुक्रबार सम्पन्न ४१ औं वार्षिक अधिवेशनबाट अध्यक्षका अर्का प्रत्यासी धादिङ त्रिपुरासुन्दरीका अञ्जन थापा (कुमार) लाई ८३ मतले पराजित गर्दै विजयी भएका हुन् ।
सुवेदीले ५२१ मत ल्याएर विजयी भएका हुन् भने पराजित थापाले ४३८ मतमा सिमित रहे । महासचिवमा भने थापा समुहकी सरिता लामा १३ मतान्तरले अर्का प्रत्यासी कर्मा शेर्पालाई पराजित गर्दै विजयी भइन् ।
नयाँ कार्यसमितिको सुवेदी समुहका बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समुहका दामोदर ढकाल निर्वाचित भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा सुवेदी समुहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् । महिला सदस्यमा थापा समुहकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छिन् । सदस्यमा थापा समुहको पाँच जना ठाकुर सापकोट, प्रेम बहादुर लामा मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समुहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।
टानमा पछिल्लो एक दशकमा कांग्रेसनिकट रमेश धमलाबाहेक लोकतान्त्रिक समूहले अहिलेसम्म जीत हासिल गर्न सकेको थिएन । तर, शुक्रबारको निर्वाचनमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी निकट व्यवसायीहरुको बहुमत हुँदाहुँदै उनीहरुमा आएको फुट तथा प्रतिपक्षी नेपाली कांग्रेस निकट व्यवसायीबीचको बलियो एकताले सुवेदी समूह विजयी भएको हो ।
को हुन अध्यक्ष खुम बहादुर सुवेदी ?
२०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्ववतीय पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका सुवेदी युनिक एडभेन्चर इन्टरनेसनल प्रा.लि., ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक हुन् ।
टानको बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष भएर काम गरिसक्नुभएका उहाँ पर्यटन व्यवसायीमात्रै होइन नियात्राकार समेत हुन् । ‘पदयात्राका पाइलाहरु’ र ‘बेल्जियमका क्षणहरु’ सुवेदीका दुई नियात्रा कृति हुन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरुबाट सम्मानित भइसक्नुभएका उहाँ धादिङ, ज्वालामुखीमा जन्मिनुभएको हो । सुवेदीले नेपाली पर्यटन प्रवद्र्धनार्थ ४० भन्दा बढी देशहरुको भ्रमण गरिसक्नुभएको छ । उहाँ सामाजिक सेवामा कृयाशिल ह्यान्ड इन ह्यान्ड नेपालका अध्यक्ष समेत हुन् ।