टेबल टेनिस रोज्नु मेरो जीवनकै सर्वोत्कृष्ट निर्णय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  840 पटक हेरिएको

काठमाण्डौ,भाद्र 20।

यतिबेला त मेरो दिमागमा ‘साग’ मात्रै भरिएको छ । म खाने सागको कुरा गरिरहेको छैन है ! ‘साग’ अर्थात्, दक्षिण एसियाली खेलकुद । १३ औं साग आगामी डिसेम्बर महिनाबाट सुरु हुँदैछ । हामी नेपाली खेलाडीहरुका लागि यो ओलम्पिक सरह नै हो । म अहिले यसैको तयारीका लागि कडा अभ्यासमा जुटिरहेकी छु । देशका लागि पदक जित्ने आकांक्षा मनभरि छ । सागको कुरामा फेरि आउने नै छु । तर, अहिले म तपाईंलाई मेरो खेल जीवनका अरु धेरै कुराहरु सुनाउन व्यग्र छु । कतिपय कुराहरु तपाईंलाई थाहा होला, कति नहोला ।

छोरीले तेक्वान्दोमा लागेर केही गरोस् भन्ने बुवाको चाहनालाई कुल्चेर टेबलटेनिसमा मोडिने निर्णय लिन मलाई पक्कै सजिलो थिएन । अनि, आफ्नै नन्दसित पाँच–पाँच पटक राष्ट्रिय प्रतियोगिताको फाइनलमा भिड्दाको अनुभव पनि कम्ति विशिष्ट छैन । साथै, टेबलटेनिसमा आठपटक राष्ट्रिय च्याम्पियन बन्नुको गौरव पनि त चानचुने होइन नि । टेबलटेनिससित मेरो नाता कसरी गाँसियो भनेर जान्न त बाल्यकालमै फर्किनुपर्ने हुन्छ ।

सानैमा मलाई टेबलटेनिस बलको ट्वाक–ट्वाक आवाज निकै मन पर्थ्यो । दराजमा, टेबलमा, भुइँमा बेडमा, जहाँ पनि टेबलटेनिस खेल्ने गर्थें ।म आठ कक्षामा पढ्दै गर्दा स्कुलले टेबलटेनिस प्रशिक्षक नै नियुक्त गरेको थियो । म त्यतिबेला म १३ वर्षकी थिएँ । अन्तरस्कुल प्रतियोगिताको लागि राकेश महर्जनलाई प्रशिक्षकका रुपमा ल्याइएको थियो ।

अरुबेला म टेबलटेनिस मनलाग्दी पारामा खेलिरहेको हुन्थेँ । तर कक्षा आठदेखि भने एउटा व्यावसायिक प्रशिक्षकबाट सिक्ने मौका पाएँ । त्यसपछि मैले अन्तरस्कुल टेबलटेनिस प्रतियोगितामा भाग लिएँ । पहिलो प्रतियोगितामै मैले अब्बल मानिएका खेलाडीलाई पराजित गरेर कास्य पदक जित्न सफल भएँ । अनि त ममा टेबलटेनिस नशा जस्तै भयो ।मैले तेक्वान्दो छोड्ने कुरामा बुवा सहमत हुनुभएन । हुन पनि उहाँकै इच्छाअनुसार मैले तेक्वान्दो सिक्न थालेकी थिएँ । तर, राकेश गुरुले निकै जोड गरेपछि म तेक्वान्दो छोड्ने निर्णयमा पुगेँ । यसबाट बुवा खिन्न हुनुभयो । परिवारमा कोही पनि खुशी हुनुभएन ।

त्यो प्रतियोगितामा मेरो प्रदर्शनबाट प्रशिक्षक राकेश निकै खुशी हुनुभएको थियो । मेरो खेलको प्रशंसा गर्दै उहाँले भन्नुभएको थियो, ‘तिमी नेपालको नम्बर वान खेलाडी बन्नेछौ ।’र, मैले यो भन्न छुटाउनु हुँदैन कि उनै राकेश कालान्तरमा मेरो श्रीमान बन्नुभयो । उहाँकै सहयोग र प्रेरणामा आफ्नो टेबलटेनिस करिअर यहाँसम्म ल्याएकी छु ।

०००

टेबलटेनिसभन्दा पहिलादेखि म तेक्वान्दो खेल्ने गर्थें । तीन कक्षा पढ्दादेखि नै तेक्वान्दो सिक्न थालेकी हुँ । तर, प्रशिक्षक राकेशले मलाई तेक्वान्दो छोडेर टेबलटेनिसमा नै केन्द्रित हुन सुझाव दिनुभयो । अनि त म दोधारमा परेँ । किनकी मेरो परिवारको झुकाव तेक्वान्दोतिर थियो ।मैले तेक्वान्दो छोड्ने कुरामा बुवा सहमत हुनुभएन । हुन पनि उहाँकै इच्छाअनुसार मैले तेक्वान्दो सिक्न थालेकी थिएँ । तर, राकेश गुरुले निकै जोड गरेपछि म तेक्वान्दो छोड्ने निर्णयमा पुगेँ । यसबाट बुवा खिन्न हुनुभयो । परिवारमा कोही पनि खुशी हुनुभएन । त्यसैले टेबलटेनिसमा मैले परिवारबाट कुनै साथ र सहयोग पाइनँ ।

बुवाले भन्ने गर्नुहुन्थ्यो, टेबलटेनिसमा कुनै भविष्य छैन । तेक्वान्दो खेलमा स्थापित भए राम्रो गर्न सकिन्छ भन्ने उहाँको मनसाय थियो । तर मैले गुरुको कुरामा लागेर बुवाको चाहनामा कुठाराघात गरेँ । त्यही भएर बुवा मसित दुःखी हुनुभयो । राकेश गुरुले ममा निकै सम्भावना देख्नुभएछ, तर म आफैंमा भने त्यति आत्मविश्वास थिएन । ९ कक्षामा हुँदा पहिलोपटक राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर पाएँ । त्यसमा म सिनियर खेलाडीसित कडा प्रतिस्पर्धामा पराजित भएँ । पराजित हुँदा पनि मेरो आत्मविश्वास भने बढ्यो । विस्तारै एकपछि अर्कोमा राम्रो गर्न थालेँ । प्रशिक्षक र अन्य सिनियर खेलाडीको नजरमा पर्दै गएँ । अरुको तारिफले मेरो मनोबल उच्च हुन्थ्यो ।

१० कक्षापछि चाहिँ देशको नम्बर वान खेलाडी नै बन्छु भन्ने अठोट नै गरेँ । त्यही अठोटले मलाई यहाँसम्म डोर्‍याएको छ । एउटा सफल खेलाडीको परिचय पाएकी छु । मेरो पहिलो अन्तर्राष्ट्रिय सहभागिताचाहिँ २०६६ सालमा भारतमा भएको जुनियर प्रतियोगितामा थियो । त्यहाँ पनि निकै राम्रो खेलेँ । पदक जित्न सफल भएँ । यसले थप उत्साह बढ्यो । २०६७ सालमा बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा मैले अवसर पाएँ । त्यसका लागि भएको छनोट प्रतियोगितामा सबै सिनियर दिदीहरु हुनुहुन्थ्यो । म सबैभन्दा जुनियर थिएँ । तर नम्बर वान भएर आफ्नो स्थान सुरक्षित बनाएँ ।

मैले टिम इभेन्ट्समा दुई खेल जिते । पदकका लागि पाँच खेलमा तीन खेल जित्नु पर्ने हुन्छ । सिनियर दिदीहरुले एक खेल पनि जित्न सक्नुभएन । एक खेल जितेको भए पदक आउँथ्यो । त्यो बेला निकै दुःख लागेको थियो । रातभर रोएँ ।त्यसपछि म सिंगल्समा फोकस हुन सकिनँ । मिक्स डबल्स र डबल्स सबै हारेँ । सागपछि मैले २०६७ साल मै विराटनगरमा भएको राष्ट्रिय प्रतियोगिता खेलेँ । त्यसमा राष्ट्रिय च्याम्पियन स्वेच्छा नेम्वाङलाई पराजित गरेर स्वर्ण पदक जित्न सफल भएँ । पहिलोपटक राष्ट्रिय च्याम्पियन हुँदा आत्मसन्तुष्टि ठूलो थियो । मेरो लामो समयको मेहनत र समर्पणको प्रतिफल थियो त्यो । त्यसमाथि, च्याम्पियनलाई पराजित गर्दै च्याम्पियन हँुदाको खुशी बेग्लै थियो । यो सफलताले मलाई अगाडिको ढोकाहरु खोलिदियो ।

०००

२०६७ मा राष्ट्रिय च्याम्पियन बनेपछि आफूलाई यही पोजिसनमा टिकाइराख्ने चुनौती थपियो । त्यसका लागि मैले आफूलाई अझै निखार्नु पर्छ भन्ने लाग्यो । थप मेहनत गर्दै गएँ । टेबल टेनिसमा पहिलेको भन्दा बढी समय दिन थालेँ । जति प्रतियोगिता आउँथ्यो, कसरी गोल्ड मेडल जित्ने भन्ने रणनीति बुन्न थाल्थेँ । दिमागमा टेबल टेनिसभन्दा अर्थोक केही हुँदैनथ्यो । त्यसयता मैले कुनै प्रतियोगिता हारिनँ । खेलेको जति सबै जित्दै गएँ । राष्ट्रिय च्याम्पियन बनेदेखि अहिलेसम्म थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेको छु । तर, अन्तर्राष्ट्रिय स्तरमा भने हामी निकै पछाडि छौं । ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक त जित्न सकिएन, तर थुप्रै तितामिठा अनुभवहरु भने बटुलेको छु ।

२०१४ मा कोरियामा भएको एसियन गेम्स खेल्ने मौका पाएँ । यो मेरोलागि सबैभन्दा ठूलो प्रतियोगिता थियो । तर हाम्रो प्रदर्शन राम्रो भएन । मेरो व्यक्तिगत प्रदर्शन पनि निराशाजनक नै रह्यो । २०१६ मा भारतमा भएको १२ औं सागमा पनि उपलब्धि हासिल गर्न चुकेँ । खेलको अघिल्लो दिन हाम्रो टिमको एक खेलाडी विरामी परेको कारण पूरै टिमको सन्तुलन बिग्रिएको थियो । मानसिक रुपमा दबाव थियो । टिम, मिक्स डबल्स र डबल्समा राम्रो हुन सकेन । सिंगल्समा राम्रो गर्दागर्दै पनि हार्न पुगेँ । खेलाडीको सपना नै अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेर देशको नाम राख्ने हुन्छ । मेरो पनि यही सपना थियो । तर, हारसँगै बिलाएर गयो । निकै दुःखी भएँ र रोएँ पनि ।

२०१८ सा इन्डोनेसियामा भएको एसियन गेम्सको लागि अभ्यास निकै राम्रो भएको थियो । प्रतियोगिता आउनु तीन महिना अगाडिदेखि नै हामीले बन्द प्रशिक्षण थालेका थियौं । भारतमा एक महिना अभ्यास गरेका थियौं । त्यहाँ हामीले राम्रो खेल्ने पार्टनर पायौं । भारतमा हामीले जसरी अभ्यास गरेका थियौं, त्यही वातावरण इन्डोनेसियामा पायौं । मैले सिंगल्समा मंगोलियालाई एक सेट जितेँ पनि । तर खेल हार्न पुगेँ ।टेबलटेनिसबाटै मेरो जिन्दगी बनेको छ । राम्रो खेल्नेलाई विभागीय टिमहरुले लिन्छन् । क्लब गेम्सहरु भइरहेका छन् । विभिन्न स्कुलहरुले पनि टेबलटेनिस खेलाडीलाई प्रशिक्षकको रुपमा राम्रो पारिश्रमिक दिएर राखेका छन् ।मिक्स डबल्समा हामीले चीनलाई एक सेट जित्यौं । त्यो बेला हामीले एक अंक ल्याउँदा नै ‘वाउ !’ भएको थियो । तर खेल्दै जाँदा त्यो सेट जित्यौं । अरु सेट नजिक पुगेर हार्‍यौं ।

अहिले मेरो धेरै पक्षमा सुधार भइरहेको छ । पावरदेखि लिएर टेक्निकल कुराहरुमा आएको सुधार आफैंले महसुस गरेकी छु । हाम्रो र उनीहरुको अभ्यासमा के फरक भन्ने स्पष्ट थाहा छ । म आफ्नो कमजोरीहरुलाई सुधार्दै आफ्नो खेललाई निखार्न चाहन्छु । प्रशिक्षकसँग पनि छलफल गरिरहेको छु । टेबल टेनिस ११ अंकको खेल हो । सानो गल्तीले पनि खेल हार्न सकिन्छ । त्यसैले मैले कहिल्यै पनि आफ्नो विपक्षी खेलाडीलाई कमजोर आँक्दिनँ ।

गत बैशाखमा प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सबै चारवटा इभेन्ट्समा स्वर्ण पदक जित्न सफल भएँ । तर, जितमा मात्तिने र हारमा आत्तिने मेरो स्वभाव छैन । मलाई केवल राम्रो गर्नु छ । आफूप्रति इमान्दार भएर खेल्नु छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार