काठमाडौं, भदौ २० ।
जातीय खलः पुचःले रातो मत्स्येन्द्रनाथको रथयात्राको अवसरमा नखःत्या नबोलाउन संयुक्त प्रेस बिज्ञप्ति निकाल्दै अपील गरेको छ । नेपाल भाषा मंका खल, बौद्ध बिहार संघ लगायत १९ वटा नेवार सम्बद्ध जातीय खलः पुचःले संयुक्त वक्तव्य जारी गर्दै कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष नखःत्या नबोलाउन र नखःत्या नजान अपील गरेको हो ।
कोरोनाका कारण यो पटक रातो मत्स्येन्द्रनाथको रथयात्रा प्रभावित भएको छ । रथारोहण गरेको लामो समयसम्म रथयात्रा हुन नसकेपछि बिहीबार स्थानीयले स्वस्फूर्त रुपमा तान्ने प्रयास गरेका थिए । त्यसक्रममा प्रहरीले रोक्दा झडप भएको थियो ।
अब रथयात्रालाई औपचारिकता मात्र दिइने छ । भोलि छोइलाबू गर्ने भनिएको छ । सामान्य अवस्थामा भए रथलाई गवाहलमा पुर्याउनुपर्ने हो । तर अब थोरै तानेर औपचारिक पुरा गरिनेछ । यो बेलामा पाटनबासीले आफन्तहरुलाई घरमा बोलाउने र भोज गर्ने गर्छन्, जसलाई नखःत्या भन्ने गरिन्छ । जातीय खलः पुचःहरुले यो पटक आफन्त नबोलाउन र नजान सबैलाई प्रेस बिज्ञप्ति मार्फत सबैलाई अपील गरेको छ ।
साथै झडपको विषयलाई लिएर प्रहरीले घरघरमा गएर मानिसहरु पक्राउ गरेकोमा समेत संयुक्त बिज्ञप्तिद्धारा विरोध जनाएका छन् । त्यसलाई रोक्न र पक्राउ गरेकाहरुलाई बिना सर्त रिहा गर्न समेत १९ नेवार समाजहरुले माग गरेका छन् ।
नेवार समुदायको संयुक्त प्रेस बिज्ञप्ति: