काठमाडौं, भदौ १९ ।
रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएकासहित उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उक्त झडपमा केही प्रहरी र रथ तान्न आउने भक्तजन तथा स्थानीय समेत घाईते भएको थियो । उक्त झडपमा सहभागी भएका स्थानीय तथा भक्तजनहरुमा समेत कोरोना संक्रमण भएको हुनसक्ने अनुमान लगाएको छ । उल्लेख्य मात्रामा दर्शनार्थीहरुको उपस्थितिमा स्वतस्फुर्त रुपमा रथ तान्न थालिए पछि प्रहरीले हस्तछेप गरेको थियो । नेपाल सरकारले लगाएको निषेधाज्ञाको समेत बेवास्ता गर्दै उल्लेख्य मात्रामा स्थानीय तथा अन्य भक्तजनहरुको सहभागिता रहेको थियो ।
कोरोना भाइरस संक्रमणको प्रभावका कारण लामो समयसम्म रोकिएको रातो मच्छिन्द्रनाथको रथ तान्न खोज्दा स्थानीय युवा र प्रहरीबीच बिहीबार पुल्चोकमा झडप भएको थियो । स्वाब संकलन गराएर झडप नियन्त्रमा खटिएका केही प्रहरीसहित उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
महानगरीय ट्राफिक प्रभाव मंगलबजार, ललितपुरकै अन्य २ प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोना देखिएको प्रहरी स्रोतले बतायो । उनीहरूमध्ये केही झडप नियन्त्रण गर्न गएका बताइएको छ ।
निषेधाज्ञा अवज्ञा गर्दै बिहीबार रथ तान्न पुगेका युवालाई प्रहरीले हटाउन खोज्दा प्रतिकार गरेका थिए । जसका कारण प्रहरी र युवाबीच झडपको स्थिति सिर्जना भएको थियो । युवाले नाराबाजी गर्दै प्रहरीलाई ढुंगामुडा प्रहार गरेका थिए । प्रहरीले भीड नियन्त्रणमा लिन पानीको फोहोरसँगै केही सेल अश्रुग्यास प्रहारसमेत गरेको थियो ।