काठमाडौं, भदौ १८ ।
सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौताका ‘विवादित विषय’बारे स्पष्ट गर्न अमेरिकी सरकारलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले पत्र लेख्दै अमेरिकी सरकारलाई सम्झौतामा उल्लेख रहेका केही अस्पष्ट बुँदाहरु बारे थप स्पष्ट गर्न आग्रह गर्दै पत्र लेखेको हो । सरकारले पत्रमा एमसीसी अमेरिकाको ‘इन्डो(प्यासेफिक रणनीति’को अंग भए/नभएको र एमसीसी अमेरिकी सुरक्षा नीतिसँग जोडिएकोरनजोडिएकोबारे स्पष्ट गर्न आग्रह गरेको अर्थमन्त्रालयका एक अधिकारीले बताए । ‘धेरै दिनको छलफल र तयारीपछि पत्र लेखेका हौं,’ ती अधिकारीले भने,’एमसीसीको सम्झौता नेपालको कानुनको अधिनमा रहने/नहरने र संसदबाटै पास गर्नुपर्ने अनिवार्यताको आवश्यक्ताबारे पनि थप स्पष्ट हुन चाहेकोले पत्र मार्फत थप स्पष्ट पार्न अमेरिका सरकारलाई अनुरोध गरिएको अर्थ मन्त्रालयले बताएको छ ।’
उनका अनुसार लेखा परीक्षणका व्यवस्थादेखि जे जति बुँदाहरुमाथि प्रश्न उठेका छन्, ती सबै विषयमा स्पष्ट गर्न आग्रह गरिएको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था नेपाल आउनुभन्दा ठीक अघि सरकारले यस्तो पत्र लेखेको हो । सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले अर्थ मन्त्रालयबाट एमसीसी अनुदान सम्बन्धी पत्र प्राप्त भएको पुष्टि गरेको छ । दूतावासका एक अधिकारीले भने,’एमसीसी अनुमोदनका लागि यो सकारात्मक कदम हो र एमसीसी पनि नेपाली जनताहरुसँग खुला र पारदर्शी छलफल गर्न तयार छ ।’ २०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन छ ।