काठमाडौं, भदौ १६ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेबाट हालै विभाजित भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न डल्लु स्थित खनालको निवासमा पुगेका छन् । भारतको नयाँदिल्ली स्थित अस्पतालमा मृगौला प्रत्यारोपण गरी स्वदेश फर्केको पर्सीपल्ट माओवादी अध्यक्ष प्रचण्डले खनाल निवास पुगेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए ।
‘कमरेड झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिन आज बिहान डल्लुस्थित कमरेड खनालको निवासमा पुग्नु भयो,’ सापकोटाले भने, ‘अध्यक्ष प्रचण्डले कमरेड खनालको पूर्ण स्वास्थ्यलाभको कामनासमेत गर्नु भएको छ ।’
नेपाल फर्केका खनाललाई नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब कुमार नेपालले त्रिभुवन एयरपोर्टमा स्वागत गरेका थिए । त्यस पश्चात खनाललाई डल्लुस्थित निवासमा पुगेर स्वास्थ्य लाभको कामना गर्ने प्रचण्ड पहिलो शिर्ष नेता हुन् ।