निहारिका सिंह राजपुतको मुद्दामा उनका छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न उच्च अदालत जनकपुरले आदेश

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  396 पटक हेरिएको

काठमाँड़ौ, भाद्र ८ । 

महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको मुद्दामा उनका छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ। बुधबार न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले दुबै जनाको डिएनए जाँच गर्न आदेश दिएको हो।

उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौंमा डिएनए परीक्षण गर्न आदेशमा जारी गरिएको हो।

उच्च अदालतले सरकारी वकिलको कार्यालयलाई डिएनए परीक्षणका लागि पत्र लेखेपछि उसले प्रयोगशालासँग समन्वय गरी परीक्षणको समय निर्धारण गर्नेछ। निहारिकाको तर्फबाट बहस गरेका वकिलले पीडितले फर्जी बताउँदै आएका जिल्ला प्रहरी कार्यालयमा विवाहित उल्लेख गरी दिइएको निवेदनको छाप परीक्षणको समेत माग गरेका थिए।

०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाऊँ’ र सोही वर्ष फागुन ११ गते ‘हक–अधिकार दिलाई पाऊँ’ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा निहारिकाको नामबाट निवेदन परेको थियो।

निवेदनमा निहारिका र शिवराजबीच श्रीमान–श्रीमतीको समबन्ध उल्लेख थियो। सोही आधारमा जिल्ला अदालत धनुषाले ०७८ माघ २४ गते जबरजस्ती करणी नभएको फैसला सुनाएको थियो। यद्यपि निहारिकाले ती निवेदन आफूले नदिएको र फर्जी रहेको दाबी गर्दै आएकी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार