आजबाट पाँचौँ चरणको उद्धार उडान हुने, यस्ता छन् उडान तालिका

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  552 पटक हेरिएको

काठमाडौँ , भदौ ९।

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो । कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा उद्धार उडान रोकिएपछि सर्वत्र आलोचना भएको थियो । मन्त्रिपरिषद्को हालैको बैठकले उद्धार उडानका साथै पिसीआर सहज भएका मुलुकबाट निश्चित शर्तसहित नियमित उडान गर्ने निर्णय गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मङ्गलबारदेखि हुने उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयका सहप्रवक्ता राजन पौडेलले उद्धार उडानको समायोजित तालिका बनाइएको जानकारी दिनुभयो ।

उडान तालिकानुसार मङ्गलबार युएईको सारजहाँबाट एयर अरेबियाले नेपालीलाई काठमाडौँ ल्याउनेछ । बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट यात्रु ल्याउने जनाइएको छ । यस्तै नेपालका दुई नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको उडान तालिका बिहीबार मात्र छ । त्यस दिन नेपाल एयरलाइन्सले रियाद र हिमालयले दमामबाट यात्रु काठमाडौँ ल्याउने छ ।

सोही दिन युरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले काठमाडौं ल्याउने तालिका तय गरिएको छ । एयरलाइन्सले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको समन्वय र सहकार्यमा मात्रै यात्रु नेपाल ल्याउन पाउनेछन् । नेपाल आउने सबै यात्रुको अनिवार्य पिसीआर रिपोर्ट हुनुपर्नेछ ।

आवगमन गर्ने सबै यात्रुले अनिवार्य सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने र खर्च आफैले नै बेहोर्नुपर्नेछ । टर्किस र कतार एयरले एक उडानमा मात्र सय जनासम्म बोक्न पाउने गरी अनुमति दिएको पर्यटन मन्त्रालयले बनाएको उडान तालिकामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार