फाइनल खेलमा फ्रेन्च क्लब पेरिसलाइ हराउदै बायर्न म्युनिख छैटौं पटक च्याम्पियन्स लिग च्याम्पियन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  874 पटक हेरिएको

एजेन्सी, भाद्र ८।  

जर्मन च्याम्पियन बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको च्याम्पियन बनेको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० लाई १–० ले पराजित गर्दै बायर्न छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो । लिस्बनमा आइतबार राति भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बायर्नका लागि किंग्सले कोमनले दोस्रो हाफमा गरेको गोल निर्णायक सावित भयो । खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।

दशौं मिनेटमा पीएसजीका थिलो केहररको क्रसलाई बोटेङले क्लियर गर्दै खतरा टारे । १४ औं मिनेटमा बर्नाटको पासमा पेनाल्टी क्षेत्रभित्र किलियन एमबाप्पेको प्रहारलाई लिओन गोरेट्जकाले ब्लक गरे । लगत्तै एमबाप्पेकै प्रयासलाई जोशुवा किम्मिचले क्लियर गरिदिए । १८ औं मिनेटमा गोलरक्षक नोएरले लगातार दुई बचाउ गरेपछि पीएसजी अग्रता लिनबाट बन्चित बन्यो । एमबाप्पेको पासमा ६ यार्ड बक्स नजिकबाट नेयमारको पहिलो प्रहारलाई रोकेका नोएरले त्यसकै रिबाउन्डमा नेयमारले दिएको कटब्याकलाई छेक्दै कर्नर बनाए ।

निर्धारित समयको २ मिनेट समय बाँकी रहँदा प्रेस्नेल किम्पेम्बेले मुलरविरुद्ध पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ट्याकल गर्दै कुनै खतरा टारे । अन्तिम मिनेटमा एमबाप्पेले सुवर्ण अवसरको सदुपयोग गर्न नसक्दा पीएसजीले अग्रता लिन सकेन । अनमार्क रहेका एमबाप्पेको प्रहार सिधै नोएरको हातमा पुगेको थियो । लगत्तै अर्कोतर्फ जिनाब्रीको प्रहारलाई नाभासले बचाउ गर्दै खेल बराबरीमा नै राखे । ५९ औं मिनेटमा बायर्नले किंग्सले कोमानको गोलमा अग्रता लियो । पीएसजीका पूर्व खेलाडी कोमानले हेडरमार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाए । जोशुवा किम्मिचको क्रसमा कोमानले ६ यार्ड बक्सको ठिक बाहिर अनमार्क रहेको अवस्थामा नाभासलाई बिट गरे ।

लगत्तै कोमानले नै बायर्नको अग्रता दोब्बर पार्ने अवसर पाए । ६ यार्ड बक्स भित्रबाट कोमानले गरेको प्रहारमा गोलरक्षक नाभास बिट भएपनि कप्तान थियागो सिल्भाले गोललाइनमा बल क्लियर गर्दै गरिदिए । अर्कोतर्फ एन्जल डी मारियाको क्रस एमबाप्पेले छुन नसक्दा बल सिधै नोएरको हातमा पुग्यो । खेलको ७० औं मिनेटमा नोएरले अर्को उत्कृष्ट बचाउ गर्दै बायर्नको अग्रता कायम राखे । डी मारियाले अलाबालाई नटमेग गर्दै दिएको लो क्रसमा मार्किन्हसको प्रहारलाई नोएरले खुट्टाले छेके । ७४ औं मिनेटमा नेयमारको प्रहार पोस्टभन्दा बाहिर गयो ।

८८ औं मिनेटमा एमबाप्पेको लामो क्रसलाई वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका चुप मोटिङले भेट्न सकेनन् । इन्ज्युरी समयको दोस्रो मिनेटमा पीएसजीले बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो । काउन्टर अट्याकमा एमबाप्पेले अगाडि बढाएको मुभमा नेयमारको अन्तिम पासलाई चुपो मोटिङले ६ यार्ड बक्सभित्र भ्ट्न सकेन । यस जितसँगै बायर्नले छैटौंपटक च्याम्पियन्स लिग उपाधि जित्न सफल भयो । बायर्न २०१३ पछि च्याम्पियन बनेको हो । यता पहिलो पटक फाइनल पुगेको पीएसजी भने उपाधिबाट बन्चित हुन पुग्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार